काठमाडौं । नेकपा (एमाले( को पुनर्गठनबारे सहमति जुटाउन काभ्रेको बल्थलीमा बसेको कार्यदलको बैठक तत्काल कुनै निष्कर्षमा पुग्न सकेन। बैठकले दुईवटा प्रस्ताव र सदस्यहरूले दिएका सुझावलाई समेटेर साझा मस्यौदा तयार गर्ने जिम्मेवारी तीन शीर्ष नेतालाई दिएको छ।
यसका लागि उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल सदस्य रहेको तीन सदस्यीय सम्पादन समिति गठन गरिएको हो। पोखरेललाई समितिको सदस्य सचिवको जिम्मेवारी दिइएको छ।
कार्यदलका सचिव राजन भट्टराईका अनुसार बैठकमा प्रस्तुत भएका फरक–फरक मस्यौदामा रहेका विषयलाई एकीकृत गरी अन्तिम प्रस्ताव तयार गरिनेछ। त्यसमा कार्यदलका सदस्यहरूले बैठकमा राखेका सुझावसमेत समेटिनेछ।
अर्का सचिव महेश बस्नेतले पनि दुवै प्रस्तावमाथि भएको छलफल र आएका सुझावका आधारमा अन्तिम मस्यौदा तयार पार्ने जिम्मेवारी तीन नेताले पाएको बताएका छन्।
सम्पादन समितिले तयार गर्ने मस्यौदामाथि असोज १ गते बस्ने कार्यदलको बैठकमा थप छलफल हुनेछ। त्यसपछि मात्र पुनर्गठनसम्बन्धी प्रस्तावलाई अन्तिम रूप दिने तयारी छ।
यसअघि कार्यदलले पार्टी पुनर्गठन तथा निर्वाचन समीक्षासहित विभिन्न विषयमा सुझाव संकलन गर्दै आएको थियो। पछिल्लो छलफलमा दुई अलग प्रस्ताव आएपछि तिनलाई मिलाएर साझा दस्तावेज बनाउने प्रयास भइरहेको छ। महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलले पार्टी पुनर्गठनको पक्षमा धारणा राख्दै आएको विषयसमेत पछिल्लो छलफलमा चर्चामा छ।

