काठमाडौं : हिजो सिंहदरबारबाट पक्राउ परेका नुवाकोट, किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङलाई आज काठमाडौं जिल्ला अदालतले ४० हजार धरौटीमा छोड्न आदेश दिएको छ । तर, उनी पुनः अन्य मुद्दाको अनुसन्धानका लागि प्रहरी हिरासतमै लगिँदैछन् ।
प्रहरी वृत्त दरबारमार्गमा दर्ता भएको जाहेरीका आधारमा उनी सोमबार पक्राउ परेका थिए । त्यहाँ उनीविरुद्ध ५ लाख २५ हजार रुपैयाँको बाउन्स चेकसम्बन्धी मुद्दामा अरुण अर्यालले जाहेरी दिएका थिए ।
प्रहरीले उनलाई जिल्ला अदालतमा पेश गर्दा न्यायाधीश टिकेन्द्र दाहालको बेञ्चले ४० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर, उनका विरुद्ध अझै ९ वटा मुद्दा बाँकी रहेको भन्दै पुनः प्रहरीले हिरासतमै लैजाने तयारी गरिरहेको छ ।

