१ आश्विन २०८३, बिहिबार 1789655676
राजनीति

जलवायु क्षतिको दाबी गर्न ‘वैज्ञानिक तथ्याङ्क’ बलियो बनाउन जरुरी छ :  सांसद रेग्मी

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.धनञ्जय रेग्मीले जलवायु परिवर्तनका कारण नेपालमा भइरहेको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायसँग बलियो रूपमा प्रस्तुत हुन वैज्ञानिक तथ्याङ्कलाई एकीकृत र प्रमाणित गर्नुपर्ने बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै रेग्मीले यस्तो बताएका हुन् ।

नेपालमा विभिन्न सरकारी निकाय, विश्वविद्यालय, अनुसन्धान संस्था र अन्तर्राष्ट्रिय संस्थाले गरेका अध्ययन तथा अनुसन्धान पर्याप्त भएपनि ती छरिएर रहेका कारण अन्तर्राष्ट्रिय मञ्चमा नेपालको एउटै आधिकारिक र विश्वसनीय तथ्याङ्क प्रस्तुत गर्न कठिनाइ भइरहेको बताए । उनले संयुक्त राष्ट्र सङ्घको महासभा तथा जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप) मा नेपालले जलवायु परिवर्तनको प्रभाव र ‘लस एन्ड ड्यामेज’का विषय उठाउँदा राजनीतिक नाराभन्दा वैज्ञानिक प्रमाणलाई आधार बनाउनुपर्नेमा जोड दिए ।

रेग्मीले नेपालमा डाटाको अभावभन्दा पनि भएका तथ्याङ्क र अनुसन्धानलाई एकीकृत गर्ने संयन्त्रको अभाव प्रमुख समस्या रहेको बताए । उनले सरकारले एउटा वैज्ञानिक संयन्त्र बनाएर विभिन्न संस्थाका अध्ययनलाई समीक्षा र वर्गीकरण गर्नुपर्ने प्रस्ताव गरे । रेग्मीका अनुसार वर्षाको ढाँचा र कुनै निश्चित विपद् घटनामा वर्षाको प्रत्यक्ष भूमिका निर्धारण गर्ने विषय भने तुलनात्मक रूपमा जटिल छ । त्यसैले सबै विपद्लाई एउटै कारणसँग जोड्नुभन्दा प्रत्येक घटनाको वैज्ञानिक विश्लेषण आवश्यक रहेको उनले बताए ।

उनले भने,  ‘अहिले हाम्रो मुख्य समस्या डाटा नभएको होइन, भएका डाटामा एकरूपता र समन्वय नहुनु हो । इसिमोड, विश्वविद्यालयहरू तथा विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय संस्थाले गरेका अध्ययनहरू छरिएर रहेका छन् । त्यसैले नेपालले अन्तर्राष्ट्रिय मञ्चमा कुन डाटालाई आधिकारिक रूपमा प्रस्तुत गर्ने भन्नेमा अन्योल देखिन्छ । हामीले जलवायु परिवर्तनको प्रभावलाई वैज्ञानिक रूपमा स्थापित गर्न केही मुख्य विषयमा केन्द्रित हुनुपर्छ । तापक्रम वृद्धि, हिमनदी पछाडि सर्नु र पातलिनु, हिउँको आवरणमा आएको परिवर्तन, पर्माफ्रोस्टको क्षयीकरण र ग्लेसियर लेकको परिवर्तन । यी विषयमा नेपाल तथा अन्तर्राष्ट्रिय संस्थाहरूका पर्याप्त अध्ययन र प्रमाण उपलब्ध छन् । वर्षा तथा अतिवृष्टिको घटनामा भने थप अध्ययन र प्रमाण आवश्यक देखिन्छ । ’

उनले थप भने, ‘हामीसँग पहिले नै धेरै डाटा छन् । भूमि उपयोग नक्साङ्कन, स्याटेलाइट तस्बिर, विभिन्न विश्वविद्यालय तथा इसिमोडका अध्ययन र विदेशी वैज्ञानिकहरूले नेपालमा गरेका अनुसन्धानलाई एकीकृत गरेर क्षतिको यथार्थ मूल्याङ्कन गर्न सकिन्छ । विशेष गरी घटनाअघिको र घटनापछिको स्याटेलाइट तस्बिर तुलना गरेर घर, कृषि भूमि तथा अन्य भौतिक क्षतिको तथ्याङ्क निकाल्न सकिन्छ । त्यसैले सबै उपलब्ध अध्ययन र डाटालाई एक ठाउँमा सङ्कलन, प्रमाणीकरण र विश्लेषण गर्न एउटा वैज्ञानिक संयन्त्र वा विशेषज्ञ निकाय आवश्यक छ ।’

भोटेकोशीमा भएको विनाशकारी घटनालाई नेपालका लागि गम्भीर चेतावनीका रूपमा लिनुपर्ने रेग्मीको भनाइ छ । उनले घटनाको क्षतिको यकिन विवरण निकाल्न घटनाअघिको र घटनापछिको स्याटेलाइट तस्बिर प्रयोग गर्न सकिने बताए । त्यसबाट प्रभावित क्षेत्रमा कति घर, कृषि भूमि र अन्य संरचना थिए तथा घटनापछि कति क्षति भयो भन्ने तथ्याङ्क निकाल्न सकिने उनको भनाइ छ । भूमि उपयोगसम्बन्धी सरकारी तथ्याङ्कलाई समेत विपद् क्षतिको अध्ययनमा प्रयोग गर्न सकिने उनले बताए ।