१ आश्विन २०८३, बिहिबार 1789672511
समाचार

रेस्टुरेन्टबाट ९ लाख घुस रकमसहित नापी अधिकृत पक्राउ

काठमाडौं । सेवाग्राहीसँग ९ लाख रुपैयाँ घुस लिएको आरोपमा नापी अधिकृत डिल्लीबहादुर वली पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार नापी कार्यालय डिल्लीबजारअन्तर्गत माछापोखरीस्थित ३ नम्बर नापी टोलीका प्रमुखसमेत रहेका वलीलाई नगदसहित नियन्त्रणमा लिइएको हो ।

छुट जग्गा दर्ताका लागि आवश्यक सिफारिससहितको मिसिल भूमि प्रशासन कार्यालय मनमैजुमा पठाउने प्रक्रियामा वलीले सेवाग्राहीलाई अनावश्यक झन्झट दिँदै रकम माग गरेको अख्तियारको दाबी छ ।

आयोगको टोलीले वलीलाई काठमाडौंको टोखा नगरपालिका–५, वसुन्धरा चोकस्थित एक रेस्टुरेन्टबाट ९ लाख रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ परेका वलीमाथि थप अनुसन्धानका लागि अख्तियारले विशेष अदालतबाट म्यादसमेत लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।