४ आश्विन २०८३, आइतबार 1789916460
राजनीति

‘ग्रे जोन’ को रिपोर्ट गलत हो भने उहाँहरूले गलत हो भनेर पुष्टि गर्नुपर्‍यो : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले ‘ग्रे जोन’ प्रतिवेदनमा सरकार र नाम जोडिएकाले स्पष्ट पार्नुपर्ने बताएका छन् । पत्रकारहरूसँग कुराकानी गर्दै उनले रिपोर्ट गलत भए सफाइ र स्पष्टीकरण दिनुपर्ने बताएका हुन् । उनले यही विषयलाई लिएर विश्लेषक भरत दाहाललाई पक्राउ गरिएकोमा आपत्ति पनि जनाए ।

ग्रे जोनको रिपोर्ट शेयर गरेकै भरमा दाहाललाई पक्राउ गरिएको भन्दै उनले ‘चोरको खुट्टा काट भन्दा चोरले खुट्टा उचालेजस्तै’ भएको बताए । ‘ग्रे जोनको रिपोर्ट गलत हो भने उहाँहरूले गलत हो भनेर पुष्टि गर्नुपर्‍यो, सफाइ र स्पष्टीकरण दिनुपर्‍यो,’ बस्नेतले भने, ‘भित्रभित्र अनियमित काम गर्ने अनि त्यसको विरुद्ध प्रश्न उठाउनेलाई गिरफ्तार गरेर आफ्नो निरङ्कुश र प्रतिशोधपूर्ण चरित्र देखाइएको छ ।’

प्रतिवेदनमा वालेन्द्र शाह, रवि लामिछाने, सुदन गुरुङ लगायतको नाम मुछिएकोले उनीहरूमाथि गम्भीर प्रश्न उठेको र यसको जवाफ उनीहरूले दिनुपर्ने बस्नेतको भनाइ छ । नेता बस्नेतले विदेशी शक्तिबाट ४ अर्ब रूपैयाँ लिएर मुलुकका प्रमुख निकायहरू सिंहदरबार, सर्वोच्च अदालत र संसद् जलाउने तथा देशलाई ध्वस्त पार्ने षड्यन्त्र भएको बताए ।