नारायणघाट : बगर बनेको नारायणी किनारमा व्यापारी फर्कन थालेका छन्। नारायणी पुरानै लयमा फर्किएसँगै किनारमा व्यापारिक चहलपहल फेरि शुरु हुन थालेको छ।

असोज ९ देखि १२ गतेसम्म निकै उर्लिएको नारायणी नदी अहिले शान्त रहेको छ। बाढीपछि महानगरपालिकासँग छलफल गरेर उनीहरू पुनः व्यापारमा फर्किएका हुन्। शनिवार बिहान कोही डोरीले ठेला तान्दै थिए कोही प्याज ताछ्न व्यस्त देखिन्थे।
बाढी आउनुअघि बाक्लो चहलपहल र फोटो खिच्नेको भीड हुने किनारमा आज ढुंगा र हिलो छ। करिब १५० देखि २ सय साना ठेला व्यवसायीको रोजीरोटी जोडिएको यो क्षेत्रमा अहिले साना ठेलाहरू किनारका छेउछाउमा बसेर व्यापार गर्ने प्रयासमा छन् भने ठूला ठेला बाटो र पार्किङमै थन्किएका छन्।
उनीहरूले भरतपुर महानगरलाई कर तिरेर व्यापार गर्दै आएका छन्। महानगरपालिकाले किनारमा व्यापार सहज हुने गरेर आवतजावत गर्ने बाटो बनाइदिने प्रतिबद्धता जनाएको छ।
पछिल्लो १० वर्ष नारायणी किनारमा बिताएकी तारादेवी परियार बाढीपछि ठेला लिएर फेरि फर्किएकी छन्। ‘यो देख्दा रुन मन लाग्छ’‚ उनी भन्छिन्, ‘कति रमझम थियो। परारको बाढीले अलिअलि भत्काएर लग्यो। यसपालि त झन् सोत्तरै पारिदियो। खोला र पानीसित मान्छेको के लाग्छ?’
उनको ३ जनाको परिवार यही व्यापारमा आश्रित छ तर अहिले दैनिक लगानी उठाउनै धौ–धौ परेको छ। ‘दैनिक चटपटे र ममका लागि प्याज, मैदा, २ किलो मासु, मसला र पानी किन्दा ३ हजार रूपैयाँ त लगानी नै गर्नुपर्छ। हिजो २००० को मात्रै व्यापार भयो’, उनले भनिन्।
नारायणी किनारमा पाका मात्र होइन, आफ्नै देशमा भविष्य खोजिरहेका युवाहरू पनि उत्तिकै भेटिन्छन्। बिहान स्नातक पढ्ने र दिउँसो ठेला चलाउने गैँडाकोटकी ज्योति पौडेलका दुई दिदीबहिनी ५ वर्षदेखि यहीँ फास्टफुड बेचिरहेका छन्।
‘हामी त युवा हो, भर्खरै पढ्दै छौँ। विदेश जानुभन्दा आफ्नै ठाउँमा केही गरौँ भनेर दिउँसो ठेला चलाएको,’ उनले भनिन्, ‘तर बाढी आएपछि मान्छे आउने बाटै बाँकी रहेन। हिँड्ने ठाउँ सबै ढुंगैढुंगा छ। घुम्ने ठावै ध्वस्त भएपछि व्यापार पूरै ध्वस्त भयो।’
व्यापार खस्किए पनि साना व्यवसायीहरूका लागि सरकारी तथा स्थानीय शुल्कको बोझ घटेको छैन। पोखराबाट भरतपुर आएर भाडामा बस्दै ५ वर्षदेखि ठेला चलाउँदै आएकी पवित्रा अधिकारीको गुनासो पनि उस्तै छ।
‘अहिले त कोही मान्छे नै आउँदैनन्, फोटो खिच्ने ठावै छैन,’ उनले भनिन्, ‘व्यापार भए नि नभए नि महिनाको २ हजार ५ सय रुपैयाँ महानगरलाई र दुई सय फोहरको बुझाउनैपर्छ।’ कमाउने र खाने माध्यम नै ठेलाको व्यापार रहेकाले व्यापार कम भए कसरी चल्ने भन्ने उनको चिन्ता छ।

