२३ आश्विन २०८३, शुक्रबार 12:26 pm
विश्व

हत्याका दोषी पूर्वसैनिकको मृत्युदण्ड लाइभ–स्ट्रिम गर्दै अमेरिका

काठमाडौं । अमेरिकाले सन् २००९ मा १३ जनाको हत्या गरेका पूर्वआर्मी मेजर निदाल मलिक हसनलाई दिइने मृत्युदण्ड प्रत्यक्ष प्रसारण (लाइभ–स्ट्रिम) गर्ने तयारी गरेको छ ।

हसनलाई आगामी डिसेम्बर ३, २०२६ मा टेक्सासस्थित फोर्ट हुड सैन्य बेसमा फायरिङ स्क्वाडमार्फत मृत्युदण्ड दिने तय भएको छ । अमेरिकी रक्षामन्त्री पीट हेगसेथले सार्वजनिक रूपमा मृत्युदण्डको प्रत्यक्ष प्रसारण गर्ने योजना रहेको बताएका छन् ।

हेगसेथका अनुसार यस्तो प्रसारणले गम्भीर अपराधको परिणामबारे सर्वसाधारणलाई जानकारी गराउनेछ । अमेरिकी रक्षा मन्त्रालयका एक अधिकारीले पनि उक्त योजनाको पुष्टि गरेका छन् ।

सन् २००९ नोभेम्बर ५ मा फोर्ट हुडमा भएको गोलीकाण्डमा १३ सैनिकको मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए । उक्त गोलीकाण्ड अमेरिकी सैन्य अड्डामा भएको सबैभन्दा घातक सामूहिक गोलीबारी थियो ।

घटनामा संलग्न हसनलाई सन् २०१३ मा सैन्य अदालतले योजनाबद्ध हत्या र हत्याको प्रयाससम्बन्धी अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएको थियो ।

सुनुवाइका क्रममा हसनले गोली चलाएको स्वीकार गर्दै अमेरिकी सेनाबाट तालिबान लडाकु तथा अन्य मुस्लिमलाई बचाउन आफूले त्यसो गरेको दाबी गरेका थिए ।

निर्धारित मितिमा मृत्युदण्ड कार्यान्वयन भए सन् १९६१ पछि अमेरिकी सेनामा पहिलोपटक मृत्युदण्ड दिइएको घटना हुनेछ । साथै, सन् १९४५ पछि अमेरिकी सेनामा फायरिङ स्क्वाडमार्फत मृत्युदण्ड दिइने यो पहिलो घटना हुने बताइएको छ ।