२५ आश्विन २०८३, आइतबार 10:57 am
समाचार

मकवानपुरको पालुङ–हेटौँडा सडकखण्डमा ३६ घण्टादेखि हजारौँ यात्रु अलपत्र

विराटनगर । काठमाडौँबाट छुटेका १०० भन्दा बढी यात्रुवाहक बस ३६ घण्टादेखि मकवानपुरको पालुङ–हेटौँडा सडकखण्डमा अवरुद्ध हुँदा हजारौँ यात्रु अलपत्र परेका छन्।

सिन्धुली सडकखण्डमा एलपीजी ग्यासको बुलेट शुक्रबार पल्टिनुका साथै सडक धस्सिएका कारण बाटो अवरुद्ध भएको हो। शुक्रबार रातिदेखि दशैं लगायतका महान् पर्व मनाउन घर फर्किएका १०० भन्दा बढी यात्रुवाहक बसमा सवार सयाैं यात्रुहरू अलपत्र परेका हुन्।

यात्रुहरू थाहा नगरपालिका वडा नम्बर ४, सिमभञ्ज्याङदेखि तल हेटौँडा पुग्ने जङ्गलको बीचमा अलपत्र अवस्थामा छन्। स्थानीय निकाय र मकवानपुर जिल्ला प्रशासन कार्यालयको प्रभावकारी समन्वय नहुँदा यात्रुहरू खान र उपयुक्त शौच गर्नबाट वञ्चित भएका छन्।

जङ्गलमा नेटवर्कविहीन अवस्थामा अलपत्र परेका यात्रुमध्ये बालबालिका, सुत्केरी महिला र वृद्धवृद्धाहरू लामो समयदेखि जाममा परेका कारण बिरामी पर्न थालेका छन्। उक्त विषयलाई लिएर थाहा नगरपालिका १, ओखरबजारदेखि पालुङबाट मकवानपुरसम्म यात्रा गर्दा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई पटक–पटक ध्यानाकर्षण गराउँदा समेत सडक खुलाउन पहल भएको नभएकाे यात्रू प्रकाश उप्रेतीले बताए ।

यातायात आवागमनको वैकल्पिक बाटो पालुङ सडकखण्डको चौडाइ सानो र घुमाउरो भएका कारण दुवैतर्फको आवागमन ठप्प भएको हो। यात्रुवाहक र मालवाहक सवारी पास नहुँदा शनिबार बिहान ६ बजेदेखि करिब ९ घण्टासम्म र अवरुद्धपछि अपराह्न ३ बजे सवारी अघि बढेका थिए। तर, उपयुक्त खाना र शौचालय नहुँदा यात्रुहरू भोकै बस्न बाध्य छन्।

हाल सिमभञ्ज्याङदेखि तल करिब एकैतर्फी १२० वटा यात्रुवाहक बस आगमनको पर्खाइमा छन्। सोही सडकमा १८ देखि २२ चक्के मालवाहक सवारी विपरीत दिशाबाट काठमाडौँतर्फ जाने क्रममा पनि जाम बढेको छ। मकवानपुरको उक्त बाटोमा समय अनुसार खोल्ने र बन्द गर्ने गरिएकाले निर्धारित समयमा यात्रु गन्तव्यमा पुग्न नसकेको बताइएको छ। अझै कच्चीबाटाे ३४ किलोमिटर बाँकी रहेकाे जानकारीमा आएकाे उप्रेती बताउँछन् ।