२५ आश्विन २०८३, आइतबार 11:55 am
समाचार

उपत्यकाका ६ केन्द्रबाट जुनसुकै कम्पनीका ग्यास सिलिन्डर साट्न पाइने

काठमाडौं : दशैँलाई लक्षित गर्दै आजदेखि फूलपातीसम्म काठमाण्डौ उपत्यकाका ६ स्थानबाट उपभोक्ताले जुनसुकै कम्पनीका एलपी ग्यास सिलिन्डर साट्न पाउने भएका छन् ।

नेपाल एलपी ग्यास उद्योग सङ्घले चाडपर्वका बेला खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन यस्तो व्यवस्था गरेको जनाएको छ । सङ्घका अनुसार तोकिएका केन्द्रमा गएर उपभोक्ताले आफ्नो सिलिन्डर साटी अर्को कम्पनीको ग्यास लिन सक्नेछन् ।

सिलिन्डर साट्नका लागि बालाजुस्थित नेपाल ग्यासको उद्योग, पेप्सीकोलास्थित सगर ग्यासको गोदाम, सुकेधारास्थित बाबा ग्यासको डिपो, सिफलस्थित एभरेस्ट तथा सुगम ग्यासको केन्द्र, कलङ्कीस्थित साईबाबा र श्रीकृष्ण ग्यासको गोदाम तथा ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यासको गोदाम तोकिएका छन् ।

सङ्घका अनुसार बालाजुबाट नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यासका सिलिन्डर लिन सकिनेछ । त्यस्तै, पेप्सीकोलाबाट सगर, सुकेधाराबाट बाबा र श्री, सिफलबाट एभरेस्ट र सुगम, कलङ्कीबाट साईबाबा र श्रीकृष्ण तथा हरिसिद्धिबाट श्रीराम ग्यासका सिलिन्डर उपलब्ध हुनेछन् ।

तोकिएका केन्द्रबाट फरक कम्पनीको सिलिन्डर साट्दा उपभोक्ताले अतिरिक्त शुल्क तिर्नुपर्ने छैन । नेपाल आयल निगमको समन्वय तथा ग्यास विक्रेता महासङ्घको सहकार्यमा बिहान ९ः३० बजेदेखि बेलुका ४ बजेसम्म सिलिन्डर साट्न सकिने व्यवस्था गरिएको सङ्घले जनाएको छ ।

हाल बजारमा ५८ वटा ग्यास उद्योगका सिलिन्डर प्रचलनमा छन् । सिलिन्डर साट्ने क्रममा उपभोक्ताले आफ्नो पहिचान खुल्ने विवरण र मोबाइल नम्बर अभिलेखका लागि उपलब्ध गराउनु