२७ आश्विन २०८३, मंगलबार 3:45 pm
Banner

हुलाक सेवालाई आधुनिक र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध: सञ्चारमन्त्री

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, प्रभावकारी र जनमुखी संस्थाका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।  हुलाक सेवा विभागको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा कार्यक्रममा उनले हुलाक सेवाको क्षमता अभिवृद्धि र संस्थागत सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताएका हुन्। 

बदलिँदो परिवेशअनुसार हुलाक सेवालाई परिमार्जित गर्दै लैजान आवश्यक रहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले हुलाक कार्यालयमार्फत घरघरमा राहदानी (पासपोर्ट) तथा अन्य सामग्री पुर्‍याउन थालेपछि यसको महत्त्व अझ बढेको बताए। बजेट र प्रविधिसम्बन्धी सीमितताका कारण एकैपटक सबै क्षेत्रमा सुधार सम्भव नभए पनि उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरेर सेवालाई सहज बनाउनुपर्नेमा उनले जोड दिएका छन्।

सञ्चारमन्त्री तिमिल्सिनाले भने, ‘सरकारी कुरियर सेवाका रूपमा काम गर्ने निर्णयसँगै घरघरमा पासपोर्ट र अन्य सामग्री डेलिभरी हुन थालेकाले हुलाकको महत्त्व अझै रहेको र यसले धेरै काम गर्न सक्ने सन्देश जनमानससम्म पुगेको छ’। शक्तिशाली र आधुनिक देशहरूमा पनि हुलाक खारेज नभएको उल्लेख गर्दै उनले सीमित क्षमता र बजेटका बाबजुद सही बाटोमा लागेर क्षमता अभिवृद्धि गर्न मन्त्रालय र समग्र सरकार सकारात्मक रहेको स्पष्ट पारेका छन्।

हुलाक सेवालाई प्रभावकारी बनाउन कर्मचारीदेखि नेतृत्व तहसम्म सबैले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा उनले जोड दिएका छन्। हुलाकका लागि आवश्यक सवारी साधन खरिद प्रक्रिया अगाडि बढाउने जानकारी दिँदै उनले अतिरिक्त कर्मचारीका बारेमा आवश्यक निर्णय गरिने र आगामी दिनमा हुलाक सेवालाई दुई सिफ्टमा सञ्चालन गर्ने गरी अध्ययन गरिनेसमेत बताएका छन्।