काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले मुलुकको मौलिक पहिचान, राष्ट्रिय अस्मिता र अस्तित्व गम्भीर सङ्कटमा परेको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै गुरुङले नवउदारवादी प्रणालीका कारण नेपालको भाषा, अर्थतन्त्र, राष्ट्रियता, सभ्यता र संस्कृति कमजोर हुँदै गएको दाबी गरे। उनले नेपालको मौलिक पहिचान र इतिहास नै समाप्त हुने दिशामा अघि बढिरहेको बताए।
‘नवउदारवादी प्रणालीले नेपालको आफ्नो पहिचान, भाषा, अर्थतन्त्र, राष्ट्रियता, सभ्यता र संस्कृति सबै हराउँदै लग्यो। त्यसले सबै कुरालाई विस्थापित गर्दै लगेको छ। एक प्रकारले नेपालमा प्रतिक्रान्ति भइसकेको अवस्था छ,’ उनले भने। गुरुङले नेपालको मौलिक पहिचान, सभ्यता, इतिहास र अस्तित्व नै संकटमा पर्दै गएको उल्लेख गर्दै यसको प्रतिरोध गर्न राष्ट्रिय स्वाधीनतासहितको समाजवादी आन्दोलन आवश्यक रहेको बताए।
उनले समयमै प्रतिरोध नगरिए नेपालको अस्मिता र पहिचान नै समाप्त हुन सक्ने चेतावनी दिए। नवऔपनिवेशिक अवस्थाले विश्वव्यापी रूपमा पश्चिमा एकध्रुवीय साम्राज्यवादलाई बलियो बनाउँदै लगेको उनको भनाइ थियो।
‘यदि त्यसको प्रतिरोध नगर्ने र त्यसविरुद्ध राष्ट्रिय स्वाधीनतासहितको समाजवादी आन्दोलनको तयारी नगर्ने हो भने नेपालको अस्मिता र पहिचान समाप्त हुन्छ,’ गुरुङले भने।
उनले मुलुकमा देखिएको राजनीतिक तथा वैचारिक चुनौतीको सामना गर्न कम्युनिस्ट, देशभक्त र लोकतन्त्रप्रेमी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए। गुरुङले राष्ट्रिय स्वाधीनता र मौलिक पहिचानको रक्षाका लागि सबै कम्युनिस्ट तथा देशभक्त शक्तिबीच एकता अपरिहार्य रहेको र पक्ष गोलबन्द हुनुपर्ने बताए।
‘सम्पूर्ण कम्युनिस्टहरू एकढिक्का हुनुको विकल्प छैन। सम्पूर्ण देशभक्त र लोकतन्त्रप्रेमी शक्तिहरू एकजुट हुन जरुरी छ। सबैलाई गोलबन्द गर्दै सम्पूर्ण नेपाली एकढिक्का हुन आवश्यक छ,’ उनले भने।

