काठमाडौँ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण तथा प्रमाणपत्र वितरणको कार्यक्रम कात्तिक १२ गते गर्ने तयारी भएको छ । सभापति गगन थापाले असोज ३१ गते पद तथा गोपनीयताको शपथ लिए पनि बाँकी पदाधिकारी र सदस्यहरू पद तथा गोपनीयताको शपथ लिएका छैनन् ।
गत असोज १८ देखि २३ गतेसम्म भएको महाधिवेशनले २३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो । त्यो केन्द्रीय समितिमा निर्वाचित भएका र निर्विरोध भएका सभापति थापा बाहेकका २३० जनाले पद तथा गोपनीयताको शपथ लिएका छैनन् । निर्वाचित भएको प्रमाणपत्र पनि पाएका छैनन् ।
कांग्रेसको निर्वाचन समितिका सदस्यसचिव अधिवक्ता राजु कटुवालले सभापति बाहेकका पदाधिकारी र सदस्यको पद तथा गोपनीयताको शपथ र प्रमाणपत्र वितरण कार्यक्रम कात्तिक १२ गते गर्ने तयारी भइरहेको जानकारी दिए । निश्चित भने भइनसकेको उनको भनाइ छ । ‘हामीले कात्तिक १२ गते गर्ने गरी तयारी अगाडि बढाइरहेका छौँ । निश्चित भने भएको छैन,’ कटुवालले भने ।
वरिष्ठ उपसभापतिमा निर्वाचित विश्वप्रकाश शर्मा मुलुकबाहिर रहेकाले शपथ र प्रमाणपत्र वितरण कार्यक्रम कहिले गर्ने भन्नेमा निश्चित नभएको कटुवालले बताए । शर्मा आज फर्किएपछि समय निश्चित हुनेछ ।

