८ कार्तिक २०८३, आइतबार 1:50 pm
Banner

हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : घिसिङ

काठमाडौं : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नेपालको पहिलो समस्या नै रोजगारीको समस्या भएको बताएका छन् ।

रामेछापको उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रीतिमा आयोजित पार्टी गाउँपालिका कमिटी पुनर्गठन कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले रोजगारीको समस्या समाधान गर्ने रोडम्याप उज्यालो नेपालले बनाएका बताए ।

हरित क्रान्ति गरेर यो देशलाई समृद्ध बनाउँछौँ भनेर हामी लागेका छौँ, यसले गर्दा वातावरण मात्र होइन आर्थिक, सामाजिक हिसाबले पनि नेपाललाई समुन्नत राष्ट्र बनाउन सकिन्छ’, उनले भने ।

धेरै वादको कुरा गरेर देश अघि नबढ्ने बताउँदै घिसिङले नेपालमा विभिन्न वादका कुरा गरे पनि देशमा आर्थिक समुन्नति हुन नसकेको बताए । उनले उज्यालो नेपालको सैद्धान्तिक र वैचारिक बाटो भनेको आर्थिक रूपान्तरणको मध्यमार्गी बाटो भएको प्रष्ट पारे । ‘ धेरै वादका कुरा गरियो तर देशले उन्नति गरेन, हामी कुनै पनि अतिवादमा जाँदैनौँ, कुनै पनि अतिवाद हाम्रो लागि मान्य छैन, हामी सबैलाई समावेश गरेर देशको समुन्नति गर्नुपर्छ भनेर लागेका छौँ’, घिसिङले भने ।

देशको विकास गरेर तल्लो वर्गका नागरिकलाई समानताको हिसाबमा ल्याउने उज्यालो नेपालको परिकल्पना रहेको उनले बताए । देशमा आर्थिक रूपान्तरण भनेको दुईचारजना मानिसहरूलाई धनी बनाउनु नभई सबैको प्रगतिको बाटो बनाउनु भएको उनको धारणा छ ।