२१ आश्विन २०८३, बुधबार 12:20 am
Banner

डा.युवराज संग्रौलाजी, देश बचाउन चाहिँ नबोल्ने ?

केही दिन अघि एक टेलिभिजनमा नेपालका सबै पार्टी र नेतालाई चोर हुन् भन्ने आशयका भद्दा र अत्यन्त कुरुप अन्तर्वार्ता दिँदै हुनुहुन्थ्यो । उहाँका अराजक भन्न मिल्ने सरासर अद्वन्द्ववादी लेखोट र बोलोट सुन्दा आफूलाई नै भारी सरम हुन्छ । आफू पनि उहाँको जस्तै विषय विज्ञको पगरी नामका अगाडि गाँसिएको हुँदा पनि यस्तो तिक्त अनुभूति भएको हुनसक्छ ।

कहिले काहिँे औताएर बोल्दा र व्यवहार गर्दा कुनै कुनै विद्वान् नाजवाफ हुन्छन् र मरिचझैँ आफ्ना कारणले आफैँ चाउरिन्छन् । एउटा प्रबुद्ध कहलिएको देशको बुद्धिजीवीले लहडी कुरा समाजलाई भड्काएर माफी पाउन सक्तैन । यस्तो छुट दिन पनि हुँदैन । तिनलाई वर्तमानकै कठघरामा नभए पनि इतिहासको कठघरामा उभ्याउनु पर्छ ।

प्रा.डा. युवराज संग्रौला पूर्व प्रधानमन्त्री ओलीले संसद् विघटन गर्नु चाहिँ प्रतिगमन नै हो भन्दै बहस र पैरवी गर्नुहुन्थ्यो । अहिले उहाँले शेरबहाद्ुर देउपाको नेतृत्वको सरकार चाहिँ अग्रगामी देखेर मौन बस्नु भएर बस्नु भएको हो ? २०७४ साल पुस १८ गते सिक्किमले गणतन्त्र जोगायो तर देश जोगाउन सकेन भन्ने तपाईँले नेपालको संविधान च्यात्न भरपूर सहयोग गर्नु भयो भयो, देशलाई नै अस्थिरताको आहालमा हालेर धराप र धर्मर पारेको त देखियो नि । यसमा तपाईँ लाई भन्त्नु केही छ ?

ओलीले संसद् विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गरेको विषयलाई नानी जन्माउन नसकेकी गर्भवती आमालाई मारेकोसम्म भनेको होइन संग्रौलाजी, अनि तपाईँले गठबन्धन सरकारका हालसम्मका तमाम जनघाती, राष्ट्रघाती र जनविरोधी गतिविधिलाई अग्रगामी काम र कदम देखेर मौन बस्नु भएको हो ?

महाकाली नदीमा मारिएका जयसिंह धामी प्रकरण,नेपाली आकासमा भारतीय सैनिक हेलिकेप्टर चक्कर लगाएको प्रकरण, २४ लाख कोरोना खोप आर्फै सरकाले हरायो भनेको विषय, महाकाली नदीपारि भारतले बनाएको पक्की तटबन्धसम्बन्धी मुद्दा, भारतस्थित नेपाली दूतावासमा देउपाले नेपालको बुच्चे नक्सा सजाएको प्रकरण, विवादास्पद नागरिकता विधेयक पारित गर्ने सोच प्रकरण, पूर्व अर्थमन्त्री अर्थमन्त्रीले वजेट निर्माणमा गरेको चरम राष्ट्रघात, कृत्रिम मूल्य बृद्धि, अझ डेढ लाख कोरोना खोप सरकारले संघ र स्थानीय सरकारसित समन्वय गरेर लगाउने प्रबन्ध नगर्दा खोप खेर गएकोजस्ता तमाम देशघाती काम अग्रगामी हुन् महाशय ! प्रतिपक्षी दलको दवावमा सरकारले पूर्व प्रधानमन्त्री सुशील कोइरालाका पालामा गुपचुपमा गरिएको एसपीपी ( स्टेट पाटरनसिप प्रोग्राम) सम्झौता सरकारले अस्वीकृत गर्न बाध्य भएको त थाहा पाउनु भयो होला नि तर उक्त पत्र सरकारले पठाइरहेको छैन । देश र जनताका विरुद्धका गठबन्धन सरकार चाहिँ अग्रगामकारी हो वकिल साहेव ? हिजोका दिनमा ओलीको देश जन हितको बोली भूइँमा खस्न नपाउँदै नानाभाँती फतुर फलाकेर कोकोहोलो गरेको हामीलाई थाहा छ तर अहिले देशको अस्तित्व नै धरापमा पर्न खोज्दा किन बोल्नु हुन्न संग्रौलाजी ? यसमा केही कनेक्सन त छैन ? बेलाको रिस त सौन्दर्य हो नि । हिजो ओलीका देश र जनताका हितमा काम गर्दा दाह्रा किट्ने अनि अहिले चाहिँ दह्री सुम्याउनु राम्रो हो र ? देश र जनताका पक्षमा बोल्दा म मारिन पनि सक्छु भनेर आफैँ उद्घोष गर्न तपाईँलाई सुहाउँछ ? यति साह्रो डर छ भने नबोल्दा पनि हुन्छ । तर सापेक्षता र तुलाना गर्दै नगरी सबै नेतालाई खराव भन्न मिल्छ ? तपाईँ सबै कम्युनिस्टलाई अधिनायकवादी भन्दै हुनुहुन्थ्यो । मदन भण्डारीले जबजमा कम्युनिस्ट आन्दोलनका कतिपय परम्परागत व्यवहारका रुढ तथा अतिवादी पक्ष र प्रसंगलाई पुनसृजन गर्नु भएको छ । उहाँका अनुसार अधिनायकत्व राज्यको चरित्र हो । एमाले पार्टी लहड र रहरका आधारमा लौरो, लाठो र बल प्रयोगका भरमा चल्ने पार्टी होइन । हँसिया हथौडा झण्डा बोकेकै भरमा सबै कम्युनिस्ट पार्टी हुँदैनन् । एमाले पार्टी त जनताको मन जितेर राजनीति र राजकीय नेतृत्व हासिल गर्न चाहन्छ । कम्तीमा तपाईँ जस्ता विज्ञले जबज र मदन भण्डारी नपढी एमाले विरुद्ध झ्वाँकै झ्वाँकमा झट्टी हान्नु भएन क्या । तपाईँ विशेषतः घुमाइफिराई एमाले र अझ ओली विरुद्ध जहिले पनि किन अस्वस्थ्य रुपमा आक्रामक बन्नुहुन्छ ? एमाले कम्युनिस्ट हो तर यो कट्टिधारी होइन एमाले क्रान्तिका नाम र निहुँमा जनधनको अपार क्षति सर्वनाश गर्ने पार्टी त हुँदै होइन । जननेता मदन भण्डारीसित नेपालका कुनै कम्युनिस्ट नेतासित किमार्थ तुलना नै हुनसक्रैन । मदन भण्डारी कथित कम्युनिस्टका नाममा खुद्रे पसल खोल्ने र त्यसका आधारमा बाम अतिवाद र अन्धवादमा मात्र रमाउने नेता होइन । पशुपतिको मूल भट्ट हटाउन नसक्ने अनि प्रधानसेनापति हटाउन नसकेर आफैँ भाग्ने प्रचण्डले गणतन्त्र ल्याएको भन्न सुहाउँछ ? प्रचण्ड त बाह्य शक्तिका भरिया हुन् । उनले त यस देशको नाम र झण्डा समेत फ्याल्न न्वारानदेखिको बल लगाएका थिए,। उनले जात,जाति,नाक र नश्लका नाममा देशमा गृहयुद्ध मच्चाउन खोजेका थिए । भण्डारीकै दुरदर्शिताका कारण विश्वमै कम्युनिस्ट आन्दोलन नै महासंकटमा परेको नेपालमा कम्युनिस्ट झण्डा लहराएका होइनन् र । यति काम अरु कुनै कम्युनिस्टको तागत र आँट देखिएन । कपया ओकिल साहेब सत्य बोल्नुहोस् तथ्य खोल्नु होस्, नत्र कठघरामा उभिन तयार हुनुहोस् ।

संसदीय मान्यताका कुनै पनि देशमा जनादेशलाई ठाडो रुपमा लत्याइँदैन, परामादेशबाट प्रधानमन्त्री बनाएको संसदीय इतिहासमा कहीँ छैन । कम्तीमा संसदको बहुमतबाट प्रधानमन्त्री चुनिनु पर्ने हो । दुनियाँमा नहुने र नभएको जात्रा गर्न गराउन संग्रौलाले सहयोगी भूमिका निर्वाह गर्नु भयो । पार्टीले कार्यवाही गरेका कुनै सांसदलाई सभामुखले कार्यवाही प्रक्रिया यथाशीघ्र अगाडि बढ्ने बढाउने तर एमालेका कार्यवाही परेका सभासद् त्यही नियम नलाग्ने, कुनै सभासद््लाई पार्टीको ह्वीप वा निर्देशन लाग्ने, कुनैलाई नलाग्ने यस्तो जात्रा गर्न गराउन संग्रौला लागेको स्पष्ट भयो । आफ्नो पार्टी र जनप्रतिनिधिलाई होल्डिङ गरेकै हुनाले तीन वर्ष बढी शासन चलाउन ओली समर्थ भएको देखीदेखी ओलीलाई होल्डिङ गर्न नसकेको भन्न कसरी सकेको श्रीमान्, यति कुरा पनि हेर्न संग्रौलाले अलि पावरदार चश्मा लगाउनु पर्ने हयो त ? तपाईंले प्रतिनिधि सभा पुनःस्थापना नभए संविधान मर्छ भन्नु भएको थियो तर अहिले गठबन्धन सरकारका कारण देश मर्न लागेको देख्नुभएन ? त्यतिबेला संविधान बचाउन बोल्छु भन्ने तपाईं देश बचाउन कहिले बोल्नुहुन्छ ? संविधानको भाग ७ धारा ७४ को शासकीय स्वरुप अन्तर्गत संसदीय शासन प्रणाली हुनेछ भन्ने पदावली किन राखियो ? संविधानको धारा ८५ को १ मा अगावै विघटन भएबाहेक ५ वर्ष प्रतिनिधि सभाको अवधि हुनेछ भन्ने कुरा भन्न मात्र भनिएको हो दुनियाँको संसदीय मान्यतामा प्रतिनिधि सभा विघटन गर्न सक्ने अधिकार प्रधानमन्त्रीमा निहित हन्छ । संविधान सभा सदस्यहरुको पारिश्रमिक र सुविधा ऐन २०७३ ले पनि प्रतिनिधि सभा विघटन हुन्छ भन्ने स्पष्ट परिकल्पना गरिएको देखिन्छ । यतिविधि तथ्य हुँदा पनि सफेद झुट बोल्न सरम लाग्दो रहेनछ ।

एकबेला युरोपले समृद्ध नेपाल देख्नै चाहँदैन भन्ने तपाईँ अहिले के भन्न्ुहुन्छ ? संसारको कुन देशमा न्यायालयले प्रधानमन्त्री तोक्छ र बनाउँछ ? संसदले प्रधानमन्त्री र सरकार बनाउँछ कि न्यायालयको ठाडो आदेशले वकिल साहेव ? आफू मारिए पनि देश सुरक्षित भएकामा खुसी छु एकजना देशभक्तले भनेका थिए रे । यस्तो पो हुन्छ त देशभक्ति ? कतिपय कुरामा मेरो पनि तपाई त सहमति नै छ तर प्रायः मिडियाका अन्तर्वार्तामा तपाईका बेसुरा अन्तवार्ता सुन्दा अचम्म लाग्छ । पूर्व प्रधानमन्त्री गिरिजा कोइरालाका पालामा छिमेकी राष्ट्रहरुले उपहार स्वरुप दिएका दर्जनौँ उत्पादन तथा रोजगारमूलक उद्योगहरु माटोका भाउमा बेचेर देशको चौतर्फी दुर्दशा गरेको तपाईँ उल्लेख गर्नु हुन्छ । यस देशमा हाल सम्म बनेका सरकारका तुलनामा ओली सरकारले सारा काम र गतिविधि हेर्दा तपाईँ आफैँ पनि भित्रभित्र छक्क पर्नु भएको होला तर एउटा पनि गुन बखान नगर्ने कसम खाएपछि सत्य बोल्न सकिन्न । छातीमा हात राखेर मूल्याङ्कन दगरौँ । सबै नेता र पार्टीलाई खसीबाख्र्री एउटै धोक्री गन मिल्दैन र यत्ति कुरामा तपाई जत्तिको विद्वान्ले विवेक र विचार पु¥याउनु पर्छ । ओली सरकारले अढाइ वर्षको अवधिमा भूकम्प पीडित,बारा पर्साका सुनामी पीडित तथा प्रधानमन्त्री आवास योजना अन्तर्गत जम्मा ७ लाख घर निर्माण गरेर हस्तान्तरण गरेको आजसम्म नेपालमा कतै सुन्नु भएको थियो संग्रौलाजी ? । भारतले गरेको नाकाबन्दीलनाई नाकाबन्दी भन्न नसक्ने पार्टी र नेतृत्व तथा नाकाबन्दी विरुद्ध चट्टानी अडान राख्ने पार्टी र नेतृत्वलाई समान देख्ने दृष्टि, दृष्टि होइन दृष्टि दोष हो र दृष्टि भ्रम हो । यस्ता भ्रम लिएर बाँच्न एउटा विज्ञ र विद्वान्लाई किमार्थ सुहाउँदैन ।

(इटहरी निवासी लेखक डा.पोखरेल एमाले प्रदेश १ का संस्कृति विभाग प्रमुख हुनुहुन्छ । )