काठमाडौं – नेकपा एमालेका सांसद खगराज अधिकारीले वर्तमान सरकार गुठीको समस्या समाधान गर्नका लागि उदासीन भएको आरोप लगाउनु भएको छ ।
प्रतिनिधि सभा बैठकमा बोल्दै अधिकारीले गुठी समस्या समाधान गर्न सरकारले के कस्तो पहल गर्दैछ भनेर जवाफ पनि माग्नु भएको थियो ।
उहाँले भन्नुभयो, ‘केपी शर्मा ओलीको नेतृत्व सरकारको पालामा हामीले गुठी सम्बन्धी विधेयक छलफलमा ल्यायौँ । अहिले पनि धादिङमा श्री ५ को वायुको गुठी छ । पलाञ्चोक, म्याग्दीलगायत विभिन्न स्थानमा गुठीको समस्या छ । तर गुठीको समस्या समाधान गर्न सरकार उदासीन छ । हिजो गुठीको समस्या समाधान गर्न ल्याएको विधेयक भड्काउन माइतीघर मण्डलाको जुलुसमा सामेल हुनेहरू आज सरकारमा हुनुहुन्छ । उहाँहरू के गर्दै हुनुहुन्छ, जवाफ चाहियो ।’
अधिकारीले प्रमुख प्रतिपक्षी दलका सांसदहरूले सिफारिस गरेको विकास योजनालाई सरकारले रोक्ने र बजेट नदिने काम गरेको आरोप पनि लगाउनु भयो । उहाँले सरकार विकास विरोधी भएको बताउँदै यसरी प्रतिशोध साँध्ने काम गरे जनताले जवाफ दिने चेतावनी पनि दिनु भयो ।