१० मंसिर २०८१, सोमबार 1732534839
Banner

भरत पराजुली भन्छन्ः मैले टिकट नपाउनुपर्ने र नजित्नुपर्ने कारण छैन

काठमाडौं । मंसिर चार गते हुने आमनिर्वाचनका लागि उम्मेदवार छनोटको विषय आमचासोको केन्द्रमा छ । साना–ठूला सबै दलमा उम्मेदवारका लागि रस्साकस्सी बढ्दो छ । उम्मेदवारको भागबण्डा टुंग्याउन सत्तागठबन्धनको दिनहुँजसो बैठक बसिरहेको छ । र, केही दिनभित्रै भागबण्डा मिलिसक्ने दाबी गरिएको छ । त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि उम्मेदवार टुंग्याउन विभिन्न छलफल चलाइरहेको छ ।

देशैभरझैं सिन्धुपाल्चोक– १ का लागि उम्मेदवार छनोटको विषय सत्तागठबन्धन र नेकपा एमाले दुवैका लागि सकसपूर्ण बनेको छ । सत्तागठबन्धनमा नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले टिकट पाउने कि माओवादी नेता एवम् निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले पाउने भन्ने टुंगो लागेको छैन । उक्त क्षेत्र माओवादीको भागमा परेको हल्ला आएसँगै कांग्रेस नेताले विद्रोहको धम्की दिन थालेका छन् ।

त्यस्तै एमालेमा नेताद्वय अरुण नेपाल र सरेश नेपालसँगै युवा नेता भरत पराजुलीको नाम बढी चर्चामा छ । जलविद्युतलगायत विभिन्न व्यवसायमा संलग्न पराजुली पछिल्लो समय राजनीतिमा बढी सक्रिय छन् । प्रस्तुत छ, उनको उम्मेदवारी र योजनाबारे गरिएको कुराकानी–

– तपाईंको उम्मेदवारीचाहिँ के–का लागि ?

सिन्धुपाल्चोक काठमाडौंबाट नजिक भएर पनि दुर्गम जिल्ला हो । चीनसँगको पुरानो नाका पनि यहीं जिल्लामा छ । तर, यसअघि केन्द्रमा पुग्न सफल जिल्लाका नेताहरु अग्नि सापकोटा वा मोहन बस्नेतले जिल्लाको हितमा राम्रोसँग काम गर्न सक्नुभएन । उहाँहरु आफू केन्द्रमा कसरी प्रभावशाली हुने भन्ने खेलोमा मात्रै लाग्नुभयो ।

२०४८ सालदेखि जनताको स्तर उस्तै छ । रोजगारी छैन । युवाहरु विदेशित बाध्य छन् । यस्ता सबै समस्या समाधानका लागि मेरो उम्मेदवारी दाबी हो ।

– एमालेका पोलिट्ब्युरो सदस्य अरुण नेपाल र केन्द्रीय सदस्य सरेश नेपाल पनि उम्मेदवार सिफारिस हुनुहुन्छ । उहाँहरुलाई छाडेर पार्टीले किन तपाईंलाई टिकट दिने ?

म एक्कासी राजनीतिमा आएको होइन । २०३६ सालको जनमत संग्रहदेखि विभिन्न विद्यार्थी राजनीतिमा संलग्न हुँदै म राजनीतिमा आएको हुँ । २०४४ सालतिरै अखिलमा रहेर विभिन्न भूमिका निर्बाह गरेको हुँ । २०४६ सालको जनआन्दोलनमा प्रत्यक्ष र सक्रिय भूमिका निभाएको हुँ । पार्टीको निर्देशनअनुसार काम गरेकै हो ।

२०४८ सालपछि पनि पार्टीलाई जिताउन दिलोज्यान दिएर लागेकै हो, जुन जगजाहेरै छ । २०६२–६३ सालको जनआन्दोलनमा पनि सबै शक्ति लगाएर हिँडिएको हो । त्यसैले पनि राजनीतिमा नयाँ होइन ।

– तर एक्कासी सांसदकै उम्मेदवारको दाबी त अलि सुहाएन नि ?

यसअघि कुनै जनप्रतिनिधिका लागि चुनाव लडेर जितेको नभए पनि पार्टीका उम्मेदवारलाई जिताउँन लागिपरेकै हो । पार्टीले उम्मेदवार बनाएको भए म पनि जनप्रतिनिधि भइसक्ने थिएँ । हिजो पार्टीले भनेका उम्मेदवारलाई जिताउन लागि परियो, अब आफैं किन अघि नबढ्ने भन्ने हो ! अहिले धेरैले म र म जस्ता नयाँ उम्मेदवार खोजेका पनि छन् । त्यसकै परिणामस्वरुप म पनि सिफारिस भएको हुँ ।

– जिल्लाबाट सिफारिस भएर हुन्छ र, केन्द्रले पत्याउँदैन होला ?

नेकपा एमाले जनताको चाहना बुझ्ने पार्टी हो । मलाई जिल्लाका नेताद्वय अरुण नेपाल र सरेश नेपालको पनि साथ छ । टिकट नपाउने कुरै छैन नि ! यसपालि उहाँहरुले त्यागको नमूना प्रस्तुत गर्नुहुनेछ । अझ यसो भनौं, मलाई उहाँहरुले नै पार्टीको माथिल्लो तहमा पुर्याउनुभएको छ ।

– अब टिकट पाउनुभएन भने त एमालेकै उम्मेदवारलाई हराउन लाग्नुहुन्छ होला है ?

त्यस्तो हुँदैन । विगतमा टिकट नपाउँदा पनि म एमालेलाई नै जिताउँन दिलोज्यान दिएर लागिपरेको हुँ, आगामी दिनमा पनि लाग्छु । तर यसपालि टिकट मैले नै पाउने निश्चितप्रायः छ । म सधैं एमालेको सिपाही हुँ, एमालेकै हितमा काम गर्छु । आफूले टिकट पाए जित्छु, बाइचान्स अरुले पाए पनि जिताउन लाग्छु ।

– सत्तागठबन्धनका हेबीवेटसँग प्रतिस्पर्धा गर्न सक्नुहोला त ?
हेभीवेट उसको कामले निर्धारण गर्ने हो । कार्यसफलताको हिसाबमा म पनि कमजोर उम्मेदवार होइन । तर, मोहन बस्नेत एवम् अग्नि सापकोटा भनेका धेरै टेस्टेड नेता हुन् । सँगै, मसँग सिंगो पार्टी कमिटी छ । भिजन छ, मिसन छ । त्यसैले प्रतिस्पर्धा गर्न सक्ने नसक्ने भन्दा पनि जित्ने तागत छ ।