१० कार्तिक २०८१, शनिबार 1730002074
समाचार

चुस्त र प्रभावकारी सेवा प्रवाह सरकारको प्राथमिकता : मुख्यसचिव

काठमाडौं । नवनियुक्त मुख्यसचिव डा. वैकुण्ठ अर्यालले सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिमण्डलसँग भएको भेटका क्रममा उनले यस्तो बताएका हुन् ।

गुणस्तरीय सेवा प्रवाह गर्ने विषयमा सरकार संवेदनशील रहेको उनको भनाइ थियो ।

गुणस्तरीय सेवा प्रवाहका लागि दीर्घकालीन नीतिगत तथा योजना बनाउने काम भइरहेको मुख्यसचिव डा अर्यालले बताए ।

नागरिकले पाउने सेवालाई सुधार गरी गुणस्तरीय बनाउने विषय सरकारको सफलतासँग पनि जोडिएको उनले बताए ।
मुलुकको आर्थिक विकास र समृद्धिका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने भन्दै मुख्यसचिव डा अर्यालले अन्तर्राष्ट्रिय लगानीका लागि पनि पहल भइरहेको जानकारी दिए ।

भेटका क्रममा चेम्बरले मुलुकको प्रशासनिक सेवालाई चुस्त र व्यवस्थित बनाउनका लागि समयबद्ध तालिका बनाएर सार्वजनिक निकायमा कडाइका साथ कार्यान्वयन गर्न सुझाव दिएको थियो ।

अन्तर सरकारी निकायबीच प्रभावकारी समन्वयमार्फत जनतासँग प्रत्यक्ष जोडिएका सेवा क्षेत्रलाई परिणाममुखी बनाउन सुझाव दिइएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए ।

उनले भने, ‘समयबद्ध तालिका बनाएर सरकारी सेवा दिन सकियो भने जनतालाई निकै राहत हुन्छ । कर तिर्न जाँदासमेत घन्टौँ लाइन बस्नुपर्ने बाध्यतालाई तत्काल अन्य गर्ने ठोस नीतिगत व्यवस्थाको आवश्यकता छ ।’

संसद्मा विचाराधीन अधिकांश आर्थिक विधेयकलाई अगाडि बढाउन सहजीकरण गरिदिन पनि चेम्बरले मुख्यसचिव डा अर्यालको ध्यानाकर्षण गराएको छ । चेम्बरले मुलुकको आर्थिक विकास र समृद्धिका लागि अन्तर्राष्ट्रिय लगानी भित्र्याउनुपर्नेमा जोड दिएको छ ।

Tags :