१० कार्तिक २०८१, शनिबार 1729987378
Banner

सभामुख घिमिरेसँग उत्तर कोरियाली राजदूतको भेट


काठमाडौं– सभामुख देवराज घिमिरेसँग नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले बिहीबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सभामुखको कार्यकक्ष सिंहदरवारमा भएको भेटमा नेपाल–उत्तर कोरिया द्विपक्षीय सम्बन्ध विस्तार, संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको छ । भेटमा सभामुख घिमिरेले दुवै देशबीच विभिन्न समयमा भएका संसदीय आदान प्रदान एवं भ्रमणहरुको स्मरण गर्नुभएको थियो । ‘विगतमा हाम्रा माननीयहरुले उत्तर कोरियाको भ्रमण गर्नुभएको थियो,’ उहाँले भन्नुभयो, ‘कोरियाली संसदमा उत्तर कोरिया–नेपाल संसदीय मैत्री समूह गठन भएको सुन्न पाउँदा खुसी लागेको छ ।’ उहाँले निकट दिनहरुमा नै नेपालले नेपाल–उत्तर कोरिया संसदीय मैत्री समूह गठन गर्ने जानकारी दिनुभयो ।

सभामुख घिमिरेले नेपालले कोरियाली प्रायद्वीपमा भएका घटनाक्रमलाई चासोका साथ नजिकबाट नियालिरहेको बताउँदै आफ्नो मुलुक कोरियाली शान्ति, एकता र स्थायित्वको पक्षमा रहेको उल्लेख गर्नुभयो । उहाँले सांसदहरुमार्फत दुई देशका जनताबीचको सम्बन्ध स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।

भेटमा नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले आफ्नो देशको सर्वोच्च जनसभा (संसद)ले नागरिकका जनअधिकार र नागरिक स्वतन्त्रताको रक्षाका लागि कानूनहरु निर्माण गर्दै गएको जानकारी गराउनुभएको थियो । उहाँले बालबालिका सम्बन्धी कानून पारित भएसँगै निःशुल्क शिक्षाको अधिकार ग्यारेन्टी भएको जानकारी दिनुभयो । सन् १९७४ मा नेपाल र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाबीच कूटनैतिक सम्बन्ध स्थापना भएयता दुई देशहरु बीचको सम्बन्ध मैत्रीपूर्ण रुपमा अगाडि बढिरहेको छ ।