१० कार्तिक २०८१, शनिबार 1729988045
Banner

कोसी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसका उद्धव थापालाई बनाउने गठबन्धनको निर्णय

काठमाडौं । कोसी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसको प्रदेश संसदीय दलका नेता उद्धव थापालाई अघि बढाउने गठबन्धन दलहरूले निर्णय गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन दलका शीर्ष नेताहरूको बैठकले थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए ।

कोसी प्रदेशभित्र गठबन्धनमा सबैभन्दा ठूलो संख्या कांग्रेसको रहेकाले बाँकी सिट संख्या पुर्याउने जिम्मा पनि कांग्रेसलाई नै दिइएको उनले बताए ।

बैठकले विभिन्न प्रदेशमा मन्त्रिमण्डलमा राख्नुपर्ने सदस्यहरुको पनि टुङ्गो लगाएको उनले जानकारी दिए ।

गत पुस २४ गते मुख्यमन्त्री बनेका नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्कीले प्रदेश सभा बैठकमा शुक्रबार विश्वासको मत नपाएपछि नयाँ सरकार गठनको लागि आह्वान भएको छ ।

कोशी प्रदेशमा ९३ सदस्य रहेका छन् । बहुमत पुर्याउन ४७ सीट चाहिन्छ । एमालेको ४० र राप्रपाको ६ गरी ४६ सांसद छन् । नेपाली कांग्रेसको २९, माओवादीको सभामुखबाहेक १२ सीट, नेकपा एसको ४ र जसपाको १ गरी गठबन्धनसँग पनि ४६ नै सीट छ ।