१० कार्तिक २०८१, शनिबार 1729987576
समाचार

काठेपुल जीर्ण भएपछि यातायात अवरुद्ध

काठमाडौं । हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–१ तिमाङ खोलाको काठेपुल जिर्ण भएपछि यातायात अवरुद्ध छ ।

विसं २०७८ असार १ गते आएको बाढीले मोटरेबल पुल भत्किएपछि बनाइएको काठेपुलको काठ कुहिएपछि यातायात अवरुद्ध भएको हो ।

प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल खनालले मोटरेबल पुल निर्माणका लागि विस्तृत योजना प्रतिवेदन तयार गरिएको जानकारी दिए ।

‘अहिलेका लागि यातायात सञ्चालन गर्न आवश्यक छ, काठकै पुल निर्माण गरी यातायात सञ्चानल गर्नुपर्छे,’ उनले भने । मोटरेबल पुल निर्माणको प्रक्रिया द्रूत गतिमा अघि बढाइएको उनको भनाइ छ ।

डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका अनुसार तनहुँ, लमजुङ र मनाङ गरी तीन जिल्लामा १५ मोटरेबल पुलको ठेक्का दिने तयारी छ । मनाङमा नौवटा मोटरेबल पुल निर्माण हुने योजना कार्यालयका प्रमुख रवीन्द्र दासले जानकारी दिए । ठेकेदारले समयमै काम नगर्दा पुल निर्माणको कामले गति लिन नसकेको उनको भनाइ छ । वार्षिक रुपमा विनियोजित बजेट ‘फ्रिज’ हुने गरेको छ ।
‘बजेट फ्रिज हुन नदिन ठेकेदारलाई कडाइ गरिएको छ,’ दासले भने । मनाङमा मोटरेबल पुल निर्माणको काम समयमा नहुँदा वर्षैपिच्छे काठको पुल निर्माण गर्दा यहाँ राज्यको दोहोरो लगानी हुने गर्दछ ।

सामान्यतया कम्तीमा एउटा काठको पुल निर्माण गर्दा तीन लाखसम्म खर्च हुने गरेको प्रमुख दासले बताए । बर्खामा तत्कालका लागि अस्थायी रुपमा काठको पुल निर्माण गर्ने गरिएको छ । ‘बिस्तारै जिल्लालाई काठेपुलरहित बनाउँदै छौँ,’ उनले भने ।

Tags :