काठमाडौं । नेपाली कांग्रेसको एक वर्ष पछि बसेको केन्द्रीय समिति बैठकमा अहिले केन्द्रीय सदस्यहरू आफ्नो धारणा राख्ने क्रम जारी छ । १० वटा विषयमा छलफल भइरहेको केन्द्रीय समितिमा अहिलेसम्म धारणा राख्ने सदस्यहरूले मिश्रशित प्रतिक्रिया दिएका छन् ।
बैठकमा नेताहरुले पार्टी नेतृत्वको चर्को आलोचना गरिरहेका छन् । महाधिवेशनबाट महामन्त्रीमा लोकप्रिय मतका साथ उदाएका गगन थापा र विश्वप्रकाश शर्माको समेत आलोचना भएको छ । उनीहरूलाई केन्द्रीय सदस्यहरूले विकल्प खोज्ने समेत चेतावनी दिएका छन् ।
यो पटक महामन्त्री थापा जसरी पनि पार्टीको नेतृत्व परिवर्तन गर्ने मुद्दालाई केन्द्रीय समितिमा लैजाने र पारित गराउने पक्षमा थिए । उनले सावर्जनिक रूपमा नै यो विषयलाई उच्च प्रथमिकता दिएको बताइरहेको छन् । सबैले रुचाएका महामन्त्रीको यो कुरा अनुसार नै बैठक सञ्चालन हुने अपेक्षा थियो । तर, बैठकको परिदृष्य फेरियो ।
बैठकमा महामन्त्री थापाले प्रस्तुत गरेको एक वर्षे कार्ययोजनामै केन्द्रित भएर छलफल चलिरहेको छ । महामन्त्री थापाले प्रस्तुत गरेको कार्ययोजना पनि कार्यान्वयनमा नेताहरुले उत्तिकै आशंका गरेका छन् । नेतृत्व परिवर्तनको एजेन्डामा आफ्नो समूहका डा.शेखर कोइरालाले समेत साथ नदिएपछि केन्द्रीय समितिमा गगनको गनगन अन्त्य भएको छ ।
गगन नेतृत्व हत्याउन कांग्रेस भित्र माहिर खेलाडी मानिन्छ । उनी आफूलाई जसरी फाइदा हुन्छ, त्यसरी नै निर्णय गर्दै आएका छन् । त्यसकारण उनी पार्टी भित्र गुट फेरिरहने नेताहरू बताउँछन् । महाधिवेशनमा आफूले नेता मानेको डा.कोइरालालाई उछिनेर उनी पार्टी सभापति बन्न चाहन्छन् ।
त्यति मात्रै होइन उनी यही कार्यकालमा प्रधानमन्त्री समेत बन्न चाहन्छ । त्यसकारण नी सभापति देउवासँग संसदीय दलमा चुनाव लडे । तर, पराजित भए । पराजित भएपनि उनी आफू प्रधानमन्त्री बन्नुपर्ने दाबी सार्वजनिक रूपमै गरी रहन्छन् ।
बैठकमा एउटा कुरा गर्ने तर बाहिर महामन्त्री थापाले मिडियामा आफू अनुकूल प्रचार गर्ने आरोप लागिरहेको बेलामा देउवाले बैठक लाइभ गर्ने रणनीति अख्तियार गरेको कतिपयको विश्लेषण छ । देउवाको यो रणनीतिले थापा र शर्मालाई अहिले भारी पर्न थालेको छ ।
देउवाको नेतृत्वमा कांग्रेस नचल्ने मानक बनाउन लागिरहेका थापालाई नै केन्द्रीय सदस्यहरूले चुनौति दिएका छन् । केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले महामन्त्रीद्वयको विकल्प खोज्नुपर्ने अवस्था आउनसक्ने चेतावनी दिइन । उनले भनिन्, ‘महामन्त्रीद्वयले पनि दायरा फराकिलो बनाउनुपर्छ । जसरी तपाईंहरू कसैको विकल्प खोज्ने भन्दै हुनुहुन्छ, तपाईंहरूको विकल्प खोज्ने दिन आउँछ, हेक्का राख्नुहोस् ।’
महामन्त्री थापा र शर्माको बारेमा उनीहरूले लेखेको बालेको देखि अन्य गतिविधिमा समेत केन्द्रीय सदस्यहरूले प्रश्न गरे । उनीहरूलाई पार्टी अनुशासनको पालना नगरेको समेत आरोप लगाए ।
सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले कार्यसमितिमा रहेका व्यक्तिहरूलाई अनुशासन लागू हुन्छ कि हुँदैन भनेर प्रश्न गरे । उनले भने, ‘एउटा केन्द्रीय सदस्य, पदाधिकारी र एउटा जिम्मेवारीमा रहेका मानिसले अर्को जिम्मेवारीमा रहेका मानिसहरूको विषयमा आफ्ना धारणाहरू व्यक्त गर्दैगर्दा के राम्रो गरेको छ ? त्यसैले यहाँ लगाममा धेरै छैन, तथानाम छ । जे पायो त्यही गरिएको छ ।’
मंगलबारदेखि जारी केन्द्रीय समितिको बैठक आज पनि जारी रहने छ । आज पनि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने छन् । बैठक ११ बजेबाट पार्टी कार्यालय सानेपामा बस्ने छ ।