११ कार्तिक २०८१, आइतबार 1730038114
Banner

बालेनको डोजर बुनपा पुगेपछि प्रहरीको नियन्त्रणमा, जनप्रतिनिधिमाथि हातपात

काठमाडौं । काठमाडौं महानगरपालिकाको डोजर बुढानिलकण्ठ नगरपालिका पुगेपछि नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं महानगरपालिकाले बुढानिलकण्ठ नगरपालिका भित्र पसेर खोलामा भएको अतिक्रमण हटाउन थालेपछि नेपाल प्रहरीले काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले पठाएको डोजर नियन्त्रणमा लिएको छ ।

काठमाडौं महानरपालिका र बुढानिलकण्ठ नगरपालिका सीमा क्षेत्र कपनमा काठमाडौं महानगरपालिकाले डोजर चलाउन थालेको थिए । आफ्नो महानगर क्षेत्रबाहिर गएर महानगरले डोजर चलाउन थालेपछि महानगरको डोजर नियन्त्रणमा लिएको हो । बुनपा र काठमाडौं महानगरको सीमा क्षेत्रमा निर्माण भएको भौतिक संरचनाका कारण काठमाडौं महानगर तिरका घरहरू डुबानमा पर्ने गुनासो आएको आधारमा महानगर डोजर लिएर बुनपा क्षेत्रमा पुगेका हुन् ।

बुनपाका जनप्रतिनिधि वडाध्यक्षसहितका स्थानीयहरूको विरोध सुरुभएपछि नेपाल प्रहरीले डोजर नियन्त्रणमा लिएको हो । काठमाडौं महानगरवासी र बुनपावासी बीच झडप हुने अवस्था आएपछि प्रहरीले हस्तक्षेप गरेको हो । महानगर प्रहरीसहित पुगेको स्थानीय र प्रहरीले बुनपाका मेयर मिठाराम अधिकारी वडाध्यक्षमाथि हातपात गर्ने अवस्था सृजना भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

बुनपाकी उपमेयर अनिता लामाले आफ्नो नगरको मेयर र वडाध्यक्षमाथि लछारपछार गरेको बताइन् । महानगरले आफूहरूसँग कुनै समन्वयन नगरी सीमा क्षेत्रमा डोजर चलाउँदा आइपर्ने समस्याको विषयमा गम्भीर हुन महानगरलाई आग्रह गरिन् । उनले खोला क्षेत्रमा डुवानको समस्या महानगरवासीलाई भन्दा बुनपावासीलाई बढी भएकाले यो विषयमा दुबै स्थानीय तह बसेर योजना बनाउन आग्रह गरिन् । प्रहरी हस्तक्षेपछि अहिले भिड शान्त भएको छ ।

बुनपा १० का अध्यक्ष तथा बुनपाका प्रवक्ता नवराज भट्टराईले पनि आफूमाथि हातपात भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । उनले लेखेका छन्, ‘तिम्रो अधिनायकवाद र तानाशाहीको निन्दा र घोर भर्त्सना गर्दछु ।’