७ मंसिर २०८१, शुक्रबार 1732334524
Banner

चेक बाउन्सरसम्बन्धी कानुन लचिलो बनाउँदै सरकार

काठमाडौं । सरकारले चेक बाउन्सरसम्बन्धी व्यवस्थालाई केही लचिलो बनाउन प्रक्रिया अघि बढाएको छ । आफ्नो खातामा पैसा नभएको जानीजानी चेक काटेर दिँदा हुने कारबाही सम्बन्धमा केही लचिलो व्यवस्था गर्न लागिएको छ । ‘चेक बाउन्स’ का रूपमा परिचित उक्त कसुरबापत विद्यमान कानुनमा रहेको व्यवस्था केही परिमार्जन गरी लचिलो बनाउन लागिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८०’चाँडै संघीय संसद्को प्रतिनिधिसभामा पेस गरिँदैछ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले विधेयक समितिबाट पेस भएको उक्त विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

करिब २ वर्षअघि नेपाल राष्ट्र बैंकले उक्त विधेयक संशोधन गरेर अर्थ मन्त्रालय पठाएको थियो ।

हाल चेक बाउन्स भएपछि चेक काट्ने व्यक्तिले म पैसा भुक्तानी गर्छु भन्दा पनि कारबाही भोग्नुपर्ने अवस्था छ । हाल दुई वा सोभन्दा बढी पटकसम्म बैंकबाट पैसा निकाल्न नपाएपछि चेक लिने मानिसले चेक काट्नेलाई चेक बाउन्सको कसुरमा कालोसूचीमा राख्न उजुरी गर्न सक्छ । उजुरीका आधारमा सम्बद्ध बैंकले चेक काट्ने व्यक्तिलाई कालोसूचीमा राख्न कर्जा सूचना केन्द्रलाई सिफारिस गर्छ ।