२७ जेष्ठ २०८३, बुधबार 1781085604
समाचार

महाकाली नदीमा पानीको सतह बढ्यो, शारदा ब्यारेजमा ४ पाङ्ग्रे सवारीसाधन आवागमनमा रोक

धनगढी । महाकाली नदीमा पानीको सतह बढेपछि शारदा ब्यारेजमा ४ पाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको छ।

लगातारको वर्षापछि नदीमा पानीको बहाव बढेर एक लाख क्युसेक नाघेपछि आइतबार साँझदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले शारदा ब्यारेजमा बिहान ८ बजे पानीको सतह एक लाख ७२ हजार क्युसेक मापन गरिएको जानकारी दिए।

उनकाअनुसार एक लाख क्युसेक नाघेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधनमा आइतबार साँझदेखि रोक लगाइएको थियो। राति पानीको सतह बढे पनि सोमबार बिहानदेखि भने घट्दो क्रममा रहेको डीएसपी डाँगीले बताए।