१२ कार्तिक २०८१, सोमबार 1730095823
समाचार

परम्परागत औषधिको विकास गर्न सरकारले लगानी बढाउँछ : मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले परम्परागत औषधिको विकास र विस्तार गर्न नेपाल सरकारले लगानी बढाउने प्रतिबद्वता व्यक्त गरेका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र भारत सरकारको संयुक्त आयोजनामा भारतको गुजरातस्थित गान्धीनगरमा आयोजना गरिएको परम्परागत चिकित्सासम्बन्धी ‘डब्लुएचओ’ विश्वव्यापी शिखर सम्मेलनको प्लेनरी सेसनलाई सम्बोधन गर्दै उनले परम्परागत औषधिको विकास र विस्तारका लागि नेपाल सरकारले लगानी बढाउने बताए । 

नेपालमा ८० प्रतिशत जनता अहिले पनि ग्रामीण क्षेत्रमा बसोबास गर्दै आएको बताउँदै मन्त्री बस्नेतले उनीहरुले कुनै न कुनै रुपमा परम्परागत औषधिको प्रयोग गर्ने गरेको जानकारी दिए । उनले भने, “परम्परागत औषधिको विकास र विस्तार गर्ने अहिले उपयुक्त समय हो । यसमा हामीले ढिलो गर्नुहुँदैन ।” 

संसारका सबै देशसँग परम्परागत औषधिका क्षेत्रमा आआफ्ना अनुभव भएको बताउँदै मन्त्री बस्नेतले आयुर्वेदिक र परम्परागत औषधिको उत्पादनमा ज्ञान र अनुभव आदानप्रदान गरेर सहकार्य गर्नु अहिलेको आवश्यकता भएको बताए ।  

सम्मेलनमा सहभागी विभिन्न देशका स्वास्थ्य मन्त्री र स्वास्थ्य क्षेत्रका अधिकारीहरुले आयुर्वेदिक क्षेत्रमा उच्चस्तरीय जनशक्तिको छात्रवृत्ति बढाउने, आयुर्वेद तथा प्राकृतिक चिकित्सामा अनुसन्धानमा सहकार्य गर्ने, औषधि उत्पादन गरी आयातनिर्यातमा सहजीकरण गर्नेलगायतका विविध विषयमा  गरेको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले जानकारी दिए । उनका अनुसार विश्वका विभिन्न देशमा आधुनिक र परम्परागत चिकित्साको एकीकृत सेवा प्रवाहको विषयमा विद्यमान अवस्था र नेपालको अवस्थाका विषयमा पनि छलफल भएको थियो ।