८ मंसिर २०८१, शनिबार 1732382313
Banner

सङ्घीयतालाई बलियो बनाउनुपर्छ : एमाले सचिव अर्याल

काठमाडौं । नेकपा (एमाले)का सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले सङ्घीयताले नै जनातका अधिकार स्थापित गर्ने भएकाले यसलाई बलियो बनाएर लैजाने गरी एमाले लागेको बताएकी छन् ।

नेकपा एमाले सङ्घीय संरचनाबारे पुनर्विचार गर्नुपर्ने निष्कर्षमा नपुगेको बताउँदै सचिव अर्यालले सङ्घीयताप्रति एमाले स्पष्ट रहेको बताएकी हुन् ।

पार्टीको लुम्बिनी प्रदेशको प्रथम अधिवेशनका अवसरमा आज बुटवलमा विभिन्न सञ्चारमाध्यमका सम्पादकसँगको छलफलमा नेता अर्यालले प्रदेश अधिवेशनमा कुनै नेताको नाममा गुट नभएको दाबी गरिन् । उनले प्रदेश अधिवेशनबाट सही र सक्षम नेतृत्व चयन हुने बताइन् ।

उनले अधिवेशनले सकेसम्म सर्वसम्मत र त्यो नभए स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्ने पनि धारणा राखिन् । ‘सर्वसम्मत भनेको सहमति र समझदारी हो,’ उनले भनिन्, ‘सहमति र समझदारी गरेर आउँदा चुनाव नै गर भन्न मिल्दैन ।’ एमालेको लुम्बिनी प्रदेशको प्रथम अधिवेशन भदौ १६ र १७ गते बुटवलमा हुने भएको छ ।

अधिवेशनका पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने पार्टी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले जानकारी दिए ।

Tags :