११ कार्तिक २०८१, आइतबार 1730009345
Banner

हेलो सरकार सेवा आजदेखि २४सैं घण्टा खुला, प्रधानमन्त्री प्रचण्डले गरे उद्घाटन

काठमाडौं । दुई सिफ्टमा सञ्चालन हुँदै आएको हेलो सरकार आजदेखि २४सैं घण्टा खुला हुने भएको छ । तत्काल सम्बोधन गर्नुपर्ने जनताका गुनासोहरु सम्बोधनका लागि हेलो सरकारलाई २४सैं घण्टा सञ्चालनमा ल्याइएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको “हेलो सरकार”को सेवालाई तीन सिफ्टमा बिस्तारित एवं सञ्चालन गर्ने कार्यको आज शुभारम्भ गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले हेलो सरकार कक्षको निरीक्षण र अनुगमनसहित तीन सिफ्टको कार्यक्रम शुभारम्भ गरेका हुन् ।

उक्त समारोहमा नेपाल सरकारका मुख्यसचिव, सचिवहरू, विभागीय प्रमुखहरू, मन्त्रालय तथा केन्द्रीय निकायका गुनासो सुन्ने अधिकृतहरू, हेलो सरकार कक्षमा कार्यरत कर्मचारीहरू सहभागी थिए ।

यसअघि नेपाल टेलिकमबाट मात्र सेवा प्रवाह हुने गरेकोमा बिस्तारित गरिएको कार्यक्रममा आजबाट एनसेल मोबाइलबाट समेत गुनासो राख्न सकिनेछ । गुनासोहरू फोन, इमेल, फेसबुक, ट्वीटर, पोर्टल, भाइबर, ह्वाट्स्एप लगायतका डिजिटल माध्यमबाट टिपाउन सकिनेछ। हेलो सरकारको डेस्कले प्राप्त गुनासोहरू तत्काल सम्बोधन गरी सोको जानकारी सम्बन्धित निवेदकलाई दिने व्यवस्था मिलाइएको छ ।

हेलो सरकार २४ सै घण्टा सञ्चालनका लागि तीन सिफ्टको कार्यतालिका निर्माण गरी सोहीअनुरूप कर्मचारी व्यवस्थापनसमेत गरिएको छ । त्यसका लागि नेपाल सरकारका ३ जना उपसचिवसहित २५ जना कर्मचारीहरू खटाइएको छ ।
हेलो सरकारमा आएका गुनासोहरू गुनासोको प्रकृति हेरी सम्बन्धित निकायमा पठाई समस्या समाधानमा सहजीकरणसमेत गर्ने व्यवस्था मिलाइएको छ । साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँग सम्बन्धित गुनासोहरू सिधै सम्बोधन गर्ने व्यवस्था गरिएको छ ।

हेलो सरकारको २४ सै घण्टा सञ्चालन हुने सेवाको शुभारम्भ गर्दै प्रधानमन्त्रीले जनताका समस्यालाई गम्भीरतापूर्वक लिई समाधान गर्न निर्देशन दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनतालाई सरकार छ भन्ने अनुभूति दिलाउन र आवश्यक समन्वयका लागि हेलो सरकार सेवालाई थप प्रभावकारी बनाइएको बताए । तत्कालीन प्रधानमन्त्री डा। बाबुराम भट्टराईको पालमा हेलो सरकार सेवाको सुरुवात भएको थियो ।