३० असार २०८३, मंगलबार 1784063703
कला/साहित्य

वरिष्ठ गायिका दिलमाया खातीको निधन

काठमाडौं : वरिष्ठ गायिका दिलमाया खातीको निधन भएको छ।

८५ वर्षको उमेरमा आफ्नै निवास दार्जिलिङको घुममा मंगलबार साँझ ९.३० बजे निधन भएको उनको परिवारलाई उद्धत गर्दै रेडियो नेपालले जनाएको छ। उनी लामो समयदेखि दम रोगबाट पीडित थिइन्।

दार्जिलिङकी नेपालीभाषी दिलमाया २०१८ सालमा नेपाल आएर पहिलोपटक रेडियो नेपालमा गीत रेर्कड गराएकी थिइन्। त्यसबेला रेडियो नेपालले आयोजना गरेको संगीत प्रतियोगितामा प्रथम भई स्वर्ण पदक जितेकी थिइन्।​ त्यसपछि यहाँका गायक–संगीतकारको आग्रहमा उनले नेपाली गीत गाउन थालेकी थिइन्।

नारायणगोपालसँग गाएका उनका दुई गीत ‘बिछोडको पीडा नसकी खप्न’ र ‘तिमी देख्दा रहर लागेर आउँछ’ लोकप्रिय छन्। ‘साउन फर्की’, सम्झेर–बुझेर दिइहाल त्यो जोवन’लगायत गीत पनि चर्चित छन्। उनले १५० हाराहारीमा नेपाली गीत गाएको संगीतका अनुसन्धाता प्रकाश सायमीले जानकारी दिए।

 ‘मेलोडी मुन’ उपमाले परिचित दिलमायाले देवकोटा सम्मान, शिखा सुर सम्मान, लहानी नेपाल सम्मान, गुञ्जन सम्मान र भूपाल संगीत पुरस्कारबाट सम्मा प्राप्त गरेकी थिइन्।