१२ मंसिर २०८१, बुधबार 1732758688
विश्व

एनआरएनए महाधिवेशन : उपाध्यक्षमा गंगाधर गौतमको चर्चा बढ्दै, को हुन गौतम ?

काठमाडौं। गैर आवासीय नेपाली संघको आगामी दुई वर्षे कार्यकालका लागि यही असोज ३० गतेदेखि हुन गइरहेको एनआरएनएको ११ औं महाधिवेशनका लागि विश्वभरबाट प्रतिनिधिहरु नेपाल आउनेक्रम धमाधम शुरु भईरहेको छ । काठमाडौंको सोल्टी होटलमा असोज ३० देखि कार्तिक ३ गतेसम्म हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले चुनावी चहलपहल पनि ब्यापक बढेको छ । नयाँ नेतृत्वका लागि हालका कार्यकारी अध्यक्ष डा.बद्री केसी, उपाध्यक्ष महेशकुमार श्रेष्ठ तथा अर्का उपाध्यक्ष आरके शर्मा बीच प्रतिस्पर्धा हुँदैछ ।

एनआरएनको चुनावमा उठन चाहने हरेक उम्मेदवारले आफनो उम्मेदवारी दर्ता गराईरहेका छन् । । यसपटक उपाध्यक्ष पदमा युरोप क्षेत्रबाट गंगाधर गौतमले आफनो उम्मेदवारी दर्ता गराएका छन् । विगत दुई दशकदेखि बेल्जियमलाई कर्मथलो बनाउँदै आएका बाग्लुङ्ग गल्कोटका गौतमले उपाध्यक्षमा आफनो उम्मेद्वारी दर्ता गराएका छन् । गौतमको उम्मेदवारी दर्तासँगै उपाध्यक्षमा उनको चर्चा शुरु भएको छ ।

को हुन् गंगाधर गौतम ?
बाग्लुङ्गमा जन्मिएका गौतम गैर आवासीय नेपालीहरुका माझ परिचित नाम हो। बेल्जियममा सपरिवार बस्दै आएका उनी विद्यार्थी जीवनदेखि नै नेपाल विद्यार्थीसंघमार्फत राजनीतिक गतिविधिमा सक्रिय छन्। नौ कक्षामा अध्ययनरत रहँदा नेविसंघमार्फत सक्रिय हुन थालेका उनी २०५१ मा बाग्लुंगको धवलागिरी क्याम्पसमा स्ववियु सभापति निर्वाचित भए र दुई कार्यकाल काम गरे। यही बीचमा २०५३ देखि २०५७ सम्म दुई पटक नेविसंघ बाग्लुङ्ग जिल्ला सभापति निर्वाचित भएर काम गरे। उनी स्ववियु परिषद्को संस्थापक सदस्य पनि हुन्।

यसरी राजनीतिक गतिविधिमा सक्रिय हुँदै गर्दा २०५७ मा उनी बेल्जियम पुगे र तत्कालीन परिस्थितिमा माओवादी हिंसाका राजनीतिक कारण उनी त्यतै बस्न थाले। बेल्जियम पुगेकै वर्ष सन् २००० मा उनीसहितका कांग्रेसजन मिलेर ‘नेपाली कांग्रेस नेपाल बेल्जियम सम्पर्क समिति’ गठन गरे र उनी संस्थापक महामन्त्री भए। २००६ मा उनी नेपाली जनसम्पर्क समिति, बेल्जियमको महामन्त्री र सन् २००७ मा युरोपभरिका कांग्रेसजनको भेलापछि गठित नेपाली जनसम्पर्क समन्वय समिति, युरोपको महामन्त्रीको रुपमा हालसम्म कार्यरत छन्।

सन् २००८ मा नेपाली जनसम्पर्क समिति, बेल्जियमको सर्वसम्मत सभापति भएका उनी २०१३ सम्म सभापति रहेर काम गरे। यसबाहेक पार्टीले सुम्पिएका हरेक जिम्मेवारीलाई गौतमले इमान्दारीपूर्वक पुरा गर्दै आएका छन्। सन् २००६ मा एनआरएन बेल्जियमको उपाध्यक्ष रहेका गौतम २०१५/१७ कार्यकालको लागि त्यहाँको अध्यक्ष निर्वाचित भएका थिए। बेल्जियममा उनी एनआरएनको संरक्षक र सल्लाहकार समेत हुन । गैरआवासिय नेपाली संघमा गौतम अहिले केन्द्रीय सचिव छन् ।

उपाध्यक्षमा तपाईलाई भोट दिएर किन जिताउने ?

गएको १८ महिनामा आफनो पदिय जिम्मेवारी पुरा गदैगर्दा संस्थामा धेरै समस्याहरु देखिएका छन् । विश्वका ८६ राष्टमा विकशित भएको यो संस्थामा झण्डै एक लाख बढि सदस्य छन् । अब यो संस्थाको मुल नेतृत्व समाल्नुपर्छ र पुरानै शैलीमा जाने होइन कि यसलाई थप संगठित गर्नुपर्छ भनेर आफुले उपाध्यक्षको उम्मेदवारी दिएको हो ।

अहिले गैरआवासीय नेपाली संघको विधानमा पुनरलेखनको आवश्यकता छ । संसारभरमा रहेका श्रमजीवि नेपालीहरुको प्रतिनिधित्व हुनेगरी गैरआवासीय नेपालीको सदस्य सधै खुल्ला हुनुपर्दछ । खुल्ला निर्वाचन प्रणालीबाट नेतृत्व चयन भयोभने सवैको अपनत्व हुन्छ । तर यो संस्था अहिले खुम्चिदै गएको छ । खुम्चिदै गएको संस्थाको साख जोगाउन र काम गरेरै आफूलाई प्रमाणित गर्न उपाध्यक्षमा उम्मेदवारी दिएको उनको जोड छ ।

दोस्रो पुस्ताका नेपालीहरूलाई नेपाली भाषा र संस्कृतिसँग जोड्ने कुराहरुदेखि लिएर ठूलो संख्यामा अहिले बाहिर गइरहेका युवालाई मूलधारमा कसरी ल्याउने भन्ने सवाल गम्भिर बन्दै गएको उनको भनाई छ ।

११ औं महाधिवेशनलाई एकताको महाधिवेशन भन्न रुचाउने गौतम महेश कुमार श्रेष्ठ अध्यक्षका उम्मेदवार रहेको टीमका उपाध्यक्ष उम्मेदवार हुन ।