३० जेष्ठ २०८३, शनिबार 1781407149
Banner

हिउँदे अधिवेशनको अन्तिम बैठक बस्दैछ, काँग्रेसले आजपनि बिरोध गर्ने

काठमाडौं :  संसदको हिउँदे अधिवेशन अन्तर्गतको अन्तिम बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। 

सरकारले संसद अधिवेशन अन्त्यका लागि सिफारिस गरिसकेको छ। आज रातिबाट अधिवेशन अन्त्यका लागि सिफारिस भएको छ। गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले संसद अधिवेशन अन्त्यको सिफारिस गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।

यद्यपि संसद अधिवेशन अन्त्यको पत्र राष्ट्रपति कार्यालयबाट संसद सचिवालयमा आइनपुगेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताएका छन्। 

गिरीका अनुसार आजको कार्यसूचीमा कुनै फरक पर्नेछैन्। बिहान ११ बजेको संसद बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठकमा संभावित कार्यसूचीका बारेमा छलफल गरिने गिरीको भनाइ छ।

गिरीका अनुसार आजको संसद बैठकको अन्तिममा राष्ट्रपतिबाट अधिवेशन अन्त्यको पत्र पढेर सभामुखले सुनाउने छन्। आजको बैठक पनि कांग्रेसले अवरोध गर्ने तयारी गरेको छ। त्यस अघि गत चैत २८ गते बसेको बैठकमा कांग्रेसले नाराबाजी गरेपछि बैठक आजसम्मका लागि स्थगित गरिएको थियो।  

कांग्रेसले सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने अडान लिएको छ।