५ आश्विन २०८१, शनिबार 1726922345
Banner

राजेन्द्र लिङदेनले रोष्ट्रममै च्याते भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले संसद बैठकमा बजेट पुस्तिका च्यातेका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकको खर्च कटौतीको प्रस्ताव र बजेटमाथि छलफल गर्न रोष्टममा पुगेका लिङदेनले सम्बोधनका क्रममा भौतिक मन्त्रालयको बजेट पुस्तिका च्यातेका हुन्।

‘सामान्यतया आफूलाई हेर्दा कम आक्रोस पोख्ने र कम रिसाउने मान्छे हो म, तर जब भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय बजेट पुस्तिका हातमा पर्‍यो। त्यो दिनदेखि म यसरी तात्तिएको छु कि म यो यसरी च्यातेर (च्याँत्दै) , यसरी हुर्‍याउने मन छ तर संसदीय मर्यादा विपरित हुन्छ भनेर कहाँ हुर्‍याउँदा हुन्छ त्यहाँ नहुर्‍याएर यहाँ (रोष्टमको टेबलमा) राखेँ।’

उनले यो आफ्नो मनको मात्र नभई हलभित्र बसेका जुनसुकै पार्टीको भएपनि चार निर्वाचन क्षेत्र बाहेकको मनको कुरा भएको उल्लेख गरे। लिङ्देनले भने,‘सामान्य लाज घिन पनि नराखेर राज्य स्रोतमाथि मनपरी कति दिनसम्म मानिसहरुले सहेर बस्ने हो ? यो देख्छन्, पढ्छन्,भनेर जिल्लाको नाम छापेर धेरै देखिन्छन् भनेर जिल्लाको समेत नाम नराखि योजना राखिएको छ।’

‘कसैको क्षेत्रमा तपाईंको मन्त्रालयबाट एउटा पनि योजना पर्नु नपर्ने, एउटा निर्वाचन क्षेत्रमा अर्बौं पर्नुपर्ने के कारण हो ?’ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई लिङ्देनले प्रश्न गर्दै भने,‘ कुन विधि ? कुन तरिकाले हो ? यो कुरा भन्नुपर्‍यो।’

उनले बजेट मन्त्री र प्रधानमन्त्रीको गोजी र चिटकटोबाट आएको भन्दै विरोध गरे।