२३ आश्विन २०८३, शुक्रबार 2:16 am
Banner

हेलिकप्टर दुर्घटनाका मृतकहरूको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल ल्याइँदै

काठमाडौं। नुवाकोटको सूर्यचौर गाउँपालिका–७ मा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा मृत्यु हुने पाँचै जनाको शव काठमाडौं ल्याइँदै छ । हेलिकप्टर दुर्घटनामा परी मृत्यु हुने  नेपाली नागरिक क्याप्टेन अरुण मल्लसहित अन्य चार चिनियाँ नागरिकको शव काठमाडौं ल्याइएको हो ।

क्याप्टेन मल्लसहित चिनियाँ  नागरिक ताङ जुताओ, उ यियाओ (महिला), लि जिइ र झी जेमिङको शव संकलन गरी पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौं ल्याउने तयारी गरिएको नागरिक उड्डयन प्राधिकरणले उल्लेख गरेको छ।

बुधबार दिउँसो करिब २:२० बजे शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित सूर्यचौरमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको थियो। हेलिकप्टर काठमाडौंबाट १:५४ बजे रसुवाको स्याप्रुबेँसीका लागि उडेको थियो। काठमाडौंबाट उडेको तीन मिनेटमै एयरटावरसँग सम्पर्कविच्छेद भएको थियो । त्यसको केही समयपछि हेलिकप्‍टर दुर्घटनामा परेको थियाे । 

यसैबीच सरकारले एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न आयोग गठन गर्ने निर्णय गरेको छ। 

नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा गठन भएको आयोगको सदस्यमा विष्णु बस्नेत र तनुजा पोखरेल रहनुभएकाे छ ।