५ आश्विन २०८१, शनिबार 1726979675
Banner

‘ग्रीन, वुमन लिडिंग द चेन्ज’ कार्यक्रम सुरु, जलवायु न्यायमा ५० अभियन्ता

काठमाडा । वातावरणीय न्यायमा काम गर्ने ५० जना अभियान्ताहरुले जलवायु परिवर्तनको जोखिम न्यूनीकरण र चाडपर्वलाई वातावरणमैत्री बनाउन देशव्यापी अभियान सुरु गर्ने घोषणा गरेका छन् । उनीहरुले शुक्रबार काठमाडौँ आयोजित एक कार्यक्रमकाबीच कार्वन उत्सर्जन घटाउने विभिन्न पाँच बुँदामा सामुहिक प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन् । त्यसमा फोहोर घटाउने, प्लास्टिकको प्रयोग न्यूनीकरण गर्ने, सामानको पुनप्रयोग गर्ने, वातावरण जोगाउन जनचेतना लगाउनेलगायत छन् ।

वातावरण र जलवायु परिवर्तनको क्षेत्रमा काम गर्दै आएको साथसाथै फाउण्डेशनले वन तथा वातावरण मन्त्रालयको सहकार्यमा आयोजना गरेको कार्यक्रममा नयाँ अभियानको थालनी गरिएको हो ।

साथसाथैका अध्यक्ष प्रजिता कार्कीले तीजलगायतका चाडपर्वलाई वातावरणमैत्री र हरियाली बनाउन संस्थाको कार्यक्रम केन्द्रित हुने जानकारी दिनुभयो । “ग्रीन तीजका लागि महिलाहरूले परिवर्तनको नेतृत्व गरिरहेका छन्”, उहाँले भन्नुभयो,“साथसाथैले नजिकिएको तीज पर्वलाई लक्षित गरी वातावरणीय पक्ष ख्याल गर्दै ‘ग्रीन, वुमन लिडिंग द चेन्ज’ कार्यक्रम सुरु गरेको हो ।”

पचास जना अभियन्ताहरुमा भूमिका श्रेष्ठ, रेखा थापा, सुनिता बराल, बिना लामा, प्रदा कार्की, श्रद्धा श्रेष्ठ, निमा ग्याल्जेन शृेर्पा, मित्र जिरेल, रेणुदेवी साह, सुजनकुमारी बर्देवा, रोजिना प्रधान राई, सृच्छा प्रधान, लिवर्टी भण्डारी, रिना चौधरी, अस्मिता बादे, गौरा नेपाली, स्मृति शर्मा, देविका राई रहनुभएको छ । त्यस्तै कृष्णा कार्की, सीता मिजार, उमा प्रधान, जोनी मैनाली, विनिता कठायत, उषाकिरण भण्डारी, अञ्जिला सुब्बा, इन्दु बर्मा, अरुणा साह,पार्वता चौधरी, रञ्जु दर्शना, रोशनी अधिकारीलगायत हुनुहुन्छ । अभियन्ताहरु राजनीति, शिक्षा, स्वास्थ्य, कानुन, खेलकुद, बैंक तथा वित्तीय संस्था, पर्यटन, कृषि, कलाकारिता, पत्रकारितालगायत क्षेत्रबाट छन् । साथसाथैले विगत तीन वर्षदेखि वातावरण एवं जलवायु न्यायका लागि क्रियाशिल रही जलवायु परिवर्तन्को असर र त्यसका न्यूनीकरणका लागि विभिन्न प्रदेशमा पुगी रचनात्मक काम गर्दै आइरहेको छ ।

संस्थाले वर्षभरी नै विभिन्न सांस्कृतिक पर्वलाई वातावरणीय दृष्टिले हरितमैत्री बनाउन विभिन्न कार्यक्रमहरु तय गरेको छ । त्यसमा यस्ता पर्वलाई हरितमैत्री बनाउन सामानको पुनःप्रयोग गर्ने, प्लाष्टिकको प्रयोगलाई निरुत्साहित गर्ने, चाडपर्वलाई वातावरणमैत्री बनाउनेलगायत छन् । अभियान घोषणा कार्यक्रममा बोल्दै नायिका रेखा थापाले प्रकृतिको संरक्षणका लागि जलवायुपरिवर्तनको जोखिम नियन्त्रण गर्न जागरुक हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,“प्रकृतिलाई बचाउनुपर्छ भनेको आमालाई बचाउनुपर्छ भन्ने भावनाका साथ अगाडि बढ्नुपर्छ । यो कार्यक्रमलाई दूरदराजमा लैजानुपर्छ ।”

अधिकारकर्मी सरु श्रेष्ठ जोशीले चाडपर्वमा फजुल खर्च घटाएर पुराना कपडाको पुनःप्रयोगलाई प्रोत्साहन गर्दै त्यसलाई वातावरणमैत्री बनाइनुपर्ने बताउनुभयो । अभियन्ता भूमिका श्रेष्ठले चाडपर्वलाई तडक भडक नभई क्षमता अनुसार मनाइनुपर्ने बताउनुभयो । जलवायु परिवर्तनसँग सम्बन्धीत कार्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्याक समुदायलाई पनि सहभागी गराईएकोमा खुशी व्यक्त गर्नुभयो । अभियन्ता सविना काफ्लेले वातावरणलाई ख्याल राखेर चाडपर्व मनाईनुपर्ने धारणा राख्नुभयो ।

अर्का अभियन्ता यमुना घले र कृष्णा कार्कीले जलवायु र वातावरणमैत्री अभियानलाई सशक्त र प्रभावकारी बनाइनुपर्ने खाँचो औंल्याउनुभयो । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि बोलेर मात्रै नभई कार्यान्वयन तहमा जानुपर्ने खाँचो रहेको उल्लेख गर्दै आफ्नो गाउँपालिकाले प्लाष्टिकको प्रयोगलाई निरुत्साहित गरेको बताउनुभयो । नेपाल पर्यटन बोर्डका निर्देशक श्रद्धा श्रेष्ठले जलवायु परिवर्तनले सबैभन्दा बढी नेपालको पर्यटन क्षेत्रमा असर परेको, हिमाली पर्यटन, पर्वतारोहण र पदयात्रामा प्रभाव पारेको भन्दै यसको जोखिम न्यूनीकरणमा सबै सक्रिय रुपमा लाग्नुपर्नेमा जोड दिनुभयो ।