८ आश्विन २०८१, मंगलबार 1727172571
Banner

तनहुँको आँबुखैरेनी दुर्घटना अपडेट : १४ जनाको मृत्यु, १५ जना घाइते

तनहुँ । तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा आज भएको बस दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल (एपीएफ) प्रवक्ता कुमार न्यौपानेका अनुसार उक्त दुर्घटनामा १४ जनाको शव निकालिएको छ ।

शुक्रबार बिहान साढे ११ बजे आबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहरास्थित सडकबाट बस मर्स्याङ्दी नदीमा खसेको हो । युपी ५३ एफटी ७६२३ नम्बरको बस पोखराबाट काठमाडौं आउँदै गरेको खुलेको छ ।

भीर भएका कारण तुइन रोपको सहायताले बास्केट स्टेचरमा राखेर घाइते र मृतकलाई सडकसम्म ल्याउने काम भइरहेको छ । उद्धारमा १० गोताखोरसहित सशस्त्र प्रहरीको ८० जनाको टोली खटिएको छ । प्रहरी पनि उद्धारमा खटिएको छ ।

बस सडकभन्दा करिब एक सय ५० मिटर तल मर्स्याङ्दी नदीमा खसेको थियो । १५ जनालाई घाइते अवस्थामा निकालिएको छ । बसमा ४० जना यात्रु रहेको प्रहरीले जनाएको छ ।