२८ जेष्ठ २०८३, बिहिबार 1781185407
Banner

ओलीलाई देउवाको सुझाव : आलोचनाबाट नडराउनुस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार अन्य पार्टीले गरेको आलोचनाबाट डराउन नहुने बताएका छन् । नेपाली कांग्रेसले आज भक्तपुरमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले प्रजातन्त्रमा आलोचनालाई स्वभाविक रुपमा लिन सुझाव दिएका हुन् । ‘प्रजातन्त्रमा आलोचना हुने स्वभाविक कुरा हो । अरु पार्टीहरुले उहाँलाई आलोचना गरेका छन्, त्यसलाई खराब मान्ने कुरा छैन’, सभापति देउवाले भने, ‘आलोचनाहरु पनि गम्भीरताका साथ तथ्यपरक भएर अहिलेको सरकारले ध्यान दिनेछ । यो कुरामा ओलीजीलाई इन्करेज गर्नेछु, उत्साहित गराउनेछु ।’

सभापति देउवाले अहिले संयुक्त सरकार बनेको र यो सरकारप्रति देशभरका पार्टी कार्यकर्ताहरु सन्तुष्ट रहेको आफूले पाएको पनि बताए । ‘मैले बुझेअनुसार देशभरकै पार्टीका साथीहरु अहिले खुसी छन्’, उनले भने, ‘उहाँहरुको चाहना पनि यो सरकारलाई पूरा समयसम्मका लागि सफल पार्नका लागि सबै साथीभाइले मलाई पनि भनिराख्याछन् ।’ गठबन्धनमा कुनै समस्या आए कांग्रेस त्यसको समाधानका लागि तयार रहेको समेत बताए । उनले अगाडि भने, ‘समस्याविहीन समाज छैन, समस्याविहीन ठाउँ छैन भने ठूला पार्टीमा आउने झन् समस्या हुन्छन् । त्यसकारण समस्या समाधान गर्न हामीहरु लाग्नुपर्छ । हाम्रो पार्टीबाट त्यसका लागि कुनै पनि अवरोध हुने छैन ।’