जनकपुरधाम । जनमत पार्टीले मधेश प्रदेश सरकारलाई असफल बनाउन सत्ता गठबन्धनका दल कांग्रेस-एमालेले नै षडयन्त्र गरेको भनेर गम्भीर आरोप लगाएपछि मधेशको राजनीति तरंगित भएको छ । मधेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीले आफ्नो आधिकारिक फेसबुक पेजबाट कांग्रेस-एमालेप्रति लगाइएका आरोपसहितको वक्तव्य शुक्रबार सार्वजनिक गरेको थियो । यस विषयमा कांग्रेस र एमाले भित्र अब अगाडि कसरी बढ्ने विषयमा बहस भइरहेको नेताहरुले बताएका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव चारदलीय सत्ता गठबन्धनका नेताहरु बसेर यस विषयमा छलफल गर्ने बताउँछन् । ‘म हिजोसम्म जनकपुर बाहिर थिएँ ।
आज बिहानै जनकपुर आएको छु । गठबन्धनको बैठक बसेर यो विषयमा छलफल गर्ने तयारी हुँदै छ । छलफलमै के कसरी अघि बढ्ने कुरा हुन्छ,’ यादवले भने । सीके राउत सचिवालय नामको फेसबुक पेजबाट जनमतलाई मधेश प्रदेशमा कांग्रेस-एमालेले घेराबन्दी गरेको आरोपसहितका आठ बुँदा सार्वजनिक भएको थियो । यस विषयमा नेकपा एमाले भित्र पनि जनमतले लगाएका आरोपबारे आन्तरिक छलफल चलिरहेको एक नेताले बताए । आन्तरिक छलफलमा जनमतले आफ्ना अक्षमता ढाकछोप गर्न अन्य दलमाथि आधारहीन आरोप लगाएको ठहर एमालेले गरेको छ ।
एमालेकी प्रदेश सांसद शारदा थापा भन्छिन्, ‘जनमतले लगाएको आरोप पुष्टि हुँदैन । अप्रमाणित आरोप लगाएर आफ्नो असक्षमता, गलती ढाकछोप गर्न खोजेको बाहेक केही होइन ।’ उनले यो विषयलाई आजदेखि काठमाडौंमा सुरु हुने एमाले केन्द्रीय समितिको बैठकमा पनि उठाउने तयारी रहेको बताइन् । एमालेका प्रमुख सचेतक हरिनारायण महतोले यस विषयमा एमालेमा छलफल भइरहेको बताए । उनले सकेसम्म आजै गठबन्धनको बैठक बसेर जनमत पार्टीले लगाएका आरोपबारे छलफल हुने बताए । जनमतले कुनै पनि मन्त्रीले मुख्यमन्त्रीलाई नटेरेको, अनियमिततामा संलग्न हुने गरेको, अर्थ मन्त्रालयले पीएलएमबीआईएस प्रणाली पाँच महिनासम्म लक गरी पुँजीगत खर्चमा रोक लगाएको, पुँजीगत बजेट खर्च गर्न कांग्रेसबाट अर्थमन्त्री रहेका सुनिल यादव बाधक रहेको, काम हुन नदिन कांग्रेस र एमालेका नेताहरूले सरकार चाँडै ढल्ने हल्ला फैलाउने गरेको लगायतका आरोप लगाएको थियो ।