काठमाडौँ : ताप्लेजुङका ६ राजनीतिक दलहरूले आन्दोलनरत पक्ष, राज्य पक्ष र केवलकार निर्माण पक्षबिच वार्ता र संवाद गरी विद्यमान असहज परिस्थितको अन्त्य गर्न आग्रह गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा(माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टीले संयुक्त रुपमा प्रकाशित गरेको विज्ञप्तिमा ताप्लेजुङ जिल्लामा लगानीमैत्री वातावरण निर्माण गर्न सम्बन्धित सबै पक्षमा अनुरोध गरिएको छ ।
पाथीभरा मुक्कुमलुङ क्षेत्रमा गत माघ १२ गते भएको घटनाप्रति दुःख व्यक्त गर्दै राजनीतिक दलहरूले घाइतेहरूको पूर्ण स्वास्थ्य लाभको कामना समेत गरेका छन् । तीन बुँदामा जारी गरिएको विज्ञप्तिमा काँग्रेसकातर्फबाट जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङ,एमालेका जिल्ला सचिव सन्तोष चाम्लिङ, माओवादी केन्द्रका जिल्ला इञ्चार्ज तथा केन्द्रीय सदस्य खेलप्रसाद बुढा क्षेत्री, रास्वपाका जिल्ला उपसभापति दावा शेर्पा, नेकपा एसका जिल्ला सचिव मोहन न्यौपाने र नेकपाका लिम्बूवान प्रदेश कमिटी सदस्य अभिषेक सीले हस्ताक्षर गरेका छन् ।