२८ भदौ २०८३, आइतबार 1789351343
समाचार

ट्रकले अटोलाई ठक्कर दिँदा आमाको मृत्यु, छोरा घाइते

म्कवानपुर : मकवापुरमा ट्रकले अटोलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । शुक्रबार बेलुकी ७ः५० बजे मकवापुरको हेटौडा उपमहानगरपालिका–११ थनाभर्‍याङमा चितवन जाँदै गरेको ना ४ ख २४९६ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना १ ह ८३०८ नम्बरको अटोलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट अटोमा सवार मनहरी गाउँपालिका–६ खयरघारीकी ३५ वर्षीया पूजा बम्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा सिएमसी चुरेहिल अस्पताल मकवानपुरमा शुक्रबार राति ९ः२० बजे मृत्यु भएको हो ।दुर्घटनामा अटो चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका–१९ का २५ वर्षीय राजु थिङ गम्भीर घाइते छन् । उनको टाउकोमा चोट लागेको छ । अटोमा पूजाकी ११ वर्षीय छोरा अमृत घिसिङ पनि सवार थिए । दुर्घटनामा उनी पनि घाइते छन् । उनको अवस्था मध्यम रहेको मकवानपुर प्रहरीले जनाएको छ । घाइते दुवैको सिएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । ट्रक, अटोसहित ट्रक चालक चितवनको राप्ती नगरपालिका– २ पिप्लेका ४८ वर्षीय कान्छा राईलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।