काठमाडौँ । राप्रपाका सांसद ध्रुवबहादुर प्रधानले राजाको नामले सदन तरंगित भएकोमा आफूहरू खुसी भएको बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानले यस्तो बताएका हुन् । ‘आज सदन राजाको नामले तरंगित छ, हामी खुसी छौँ’, उनले भने, ‘फागुन ७ गते राजाबाट शुभकामना व्यक्त गर्दै अभिभावकीय भूमिका निर्वाह गरिबक्स्यो । सोही अनुसार २५ गते पोखराबाट काठमाडौँ फर्कँदा स्वतःस्फूर्त रूपमा नागरिकहरू एरपोर्ट हुँदै निर्मल निवास पुगे ।’
उनले प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दै अपरिपक्व भएको समेत बताए । ‘विद्धान मित्रहरू भनिरहेका छन्, अव यो व्यवस्थाले धान्न सक्दैन राजसंस्थाको अपरिहार्यताको कुरा गरिरहेका छन्’, प्रधानले भने, ‘संघीयता खारेजीका कुरा गरिरहेका छन् ।’ पश्चगामी र पुर्नउत्थावादी कुरा नगरेको भन्दै अभिभावकको भूमिका निर्वाह गर्ने राजसंस्था संसदबाटै व्यवस्था गर्न सकिने प्रधानको भनाइ छ । तर उनले आन्दोलनलाई निरन्तरता दिने भन्दै अबको आन्दोलनमा सारा राष्ट्रवादी शक्ति एक ठाउँमा उभिने दाबी गरे ।


