काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक नियमित नबसेकोमा सत्तारुढ दल नेपाली कांग्रेसले असन्तुष्टि जनाएको छ । मंगलबार बसेको समितिको बैठकमै कांग्रेस सांसद रामकृष्ण यादवले समितिको बैठक नियमित बस्न नसकेको भनेर सभापति ऋषिकेश पोखरेलको ध्यानाकर्षण गरे । ‘समितिको बैठक पर्व र चाड जस्तो भयो । महिनामा एक दिन जस्तो मात्रै बस्दा निराशा छ’, यादवले भने । सभापति पोखरेलले उपसमितिको बैठक नियमित बसिरहेको बताए । नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले कांग्रेस सांसद यादवको भनाइमा समर्थन जनाए ।
‘११४ वटा उजुरी छ । थानका थान उजुरी छ । एक दिन बिराएर बैठक बस्नुपर्ने हो । तर महिना महिनामा बैठक राख्नुहुन्छ । यसरी हुन्छ ?’ आलेले भने । राज्यको सम्पत्ति दुरुपयोग भएकोमा लेखा समितिले चासो राख्नुपर्ने बताए । पोखरा र भैरहवा विमानस्थलको विषयमा समेत अध्ययनबारे छलफल चलाउन पनि सांसद आलेले माग गरे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले पनि समितिको बैठक संख्या बढाउन आवश्यक रहेको बताए । ‘समितिको बैठक संख्या बढाउनुपर्यो । बैठक बसिरहेको छ भनेर एक्सक्युज गरेर हुदैन । बैठकको संख्या बढाएर समिति अगाडि जानुपर्यो,’ झाले भने ।