काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले राजवादी र गणतन्त्रवादीहरू बिच मुडभेडको नअवस्था नरहेको बताए । उनले भने -‘यो गणतन्त्र गणतान्त्रिक नभएको भन्दै व्यक्त भएको असन्तुष्टि हो, गणतन्त्रवादीहरू गणतान्त्रिक नभएपछि आन्दोलन हुनु स्वाभाविक हो ।’ ‘राजतन्त्रवादीहरूसँग न हिजोको परिवार छ, न हिजोको समुदाय छ’ उनले भने ‘अहिलेको अवस्थामा राजा टिकाउने वा ल्याउने कुनै पनि आधार देखिँदैन । ‘
समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रममा कुरा गर्दै उनले भने, ‘मूल कुरा गणतन्त्रवादीहरूले गणतन्त्रलाई गणतान्त्रिक बनाउनुपर्छ त्यो चाहिँ भएको छैन ।’ आज भएको गणतन्त्रवादीहरुको जुलुस पनि शासकहरूका लागि भएको उनले बताए । शासन सही ढङ्गले सञ्चालन गर्न दबाब दिनका लागि प्रदर्शन गरिएको उनको भनाइ थियो । अहिले जुन तरिकाले सरकार र सत्ता सञ्चालन भइरहेको छ त्यो तरिकाले सधैँ नचल्ने भन्दै उनले नेताहरूले आफ्नो पार्टीलाई लोकतान्त्रिक, गणतान्त्रिक बनाउन आवश्यक रहेको जिकिर गरे ।


