१ जेष्ठ २०८३, शुक्रबार 1778886661
अर्थ

 नमोबुद्ध नगरपालिकाले ल्यायाे ८० करोड ७३ लाख बढीकाे बजेट

काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ८० करोड ७३ लाख २३ हजार रुपैयाँको बजेट ल्याएकाे छ । नमोबुद्धले चालुतर्फ १८ करोड ३२ लाख २६ हजार रुपैयाँ र पुँजीगततर्फ ६२ करोड ४१ लाख ३६ हजार रुपैयाँको बजेट ल्याएकाे हाे ।

सोमबार नगर प्रमुख कुनसाङ लामाको अध्यक्षतामा भएको नगर सभामा उपप्रमुख रत्न बहादुर लामाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि आय र व्ययको अनुमान प्रस्तुत गरेका थिए ।

बैठकमा नगर प्रमुख कुनसाङ लामाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।नमोबुद्धले गत असोज १० देखि १२ सम्मको अविरल वर्षापछि बाढी र पहिरोजन्य प्रकोपबाट नगरपालिकाको पूर्वाधार, विद्युत तथा सञ्चार, कृषि तथा पशुपंक्षी, आवास लगायतको क्षेत्रमा भएको क्षति व्यवस्थापन गर्न बजेट कार्यक्रम केन्द्रित गरेको अध्यक्ष लामाले जानकारी दिए ।

आगामी नीति तथा कार्यक्रम र बजेटलाई विपद् पश्चातको राहत वितरण, पुनर्स्थापना, संरक्षणमा केन्द्रित गर्दै नागरिकको राहत, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, पूर्वाधार विकास, कृषि,रोजगारीमा जोड दिइएको उनले बताए ।नगर सभामा सार्वजनिक लेखा समितिका संयोजक एवं वडा नम्बर ११ का वडाध्यक्ष कृष्णबहादुर तामाङले आर्थिक वर्ष २०८०/०८१ को आर्थिक विधेयकका साथै महालेखा परीक्षकको अन्तिम प्रतिवेदन र वडा नम्बर ९ का अध्यक्ष वीरबहादुर लामाले विनियोजन विधेयक प्रस्तुत गरेका थिए । नगर सभामा प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले चालु आर्थिक वर्ष २०८१/८२ को वित्तीय प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उनका अनुसार, चालु आर्थिक वर्षको हालसम्मको अवधिमा ७९.५५ प्रतिशत वित्तीय प्रगति भएको छ ।