२७ जेष्ठ २०८३, बुधबार 1781123382
Banner

हामी मिसन–८४ अग्रसर छौँ, अवरोध गर्नेको हिसाब किताब गरिने छः प्रधानमन्त्री

काठमाडौँ, असार १४ गते । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन नआउँदै पार्टीभित्र केही स्वार्थ तत्वहरूलाई महाधिवेशन लागेको टिप्पणी गर्नुभएको छ ।

जननेता मदनकुमार भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय युवा सङ्घद्वारा चन्द्रागिरि नगरपालिका वडा १३, कङ्कालीमा आयोजित वृक्षरोपण कार्यक्रमको शुभारम्भका अवसरमा अध्यक्ष ओलीले आफूहरुको लक्ष्य पार्टीलाई एकल बहुमतसहितको मिसन–८४ रहेको स्थितिमा पार्टीभित्र आफ्नो स्वार्थ खोज्नेहरुको हिसाब किताब गरिने बताउनुभयो ।

“हामी अर्जुनदृष्टिका साथ मिसन–८४ को अभियानमा छौँ । हाम्रो स्वार्थ देशको समृद्धि, विकास र सुशासन हो । यस मिसनमा सबै एकजुट भएर लाग्नुपर्ने बेलामा महाधिवेशन नआउँदै महाधिवेशन लागेको जस्तो देखाउन आवश्यक छैन”, अध्यक्ष ओलीले भन्नुभयो, “हाम्रा कार्यकर्तालाई महाधिवेशन लागेकै छैन । केही स्वार्थीहरूलाई महाधिवेशन लागेको मात्रै हो । हामी त्यस्ताका पछाडि लाग्नु हुँदैन ।”

प्रधानमन्त्री ओलीले शिक्षक, विद्यार्थी र सबैको मिहिनेतका कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा गत वर्षको भन्दा १४ प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण भएको उल्लेख गर्दै आगामी वर्ष थप सुधार ल्याउने गरी काम गरिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले मौका परीक्षामा सहभागी हुने र आउने एसइईका लागि पनि देशभर महत्त्वपूर्ण विषयमा निःशुल्क अनलाइन कक्षा सञ्चालन गराइने जानकारी गराउनुभयो ।