२३ असार २०८३, मंगलबार 1783418164
अर्थ

मेघौलीमा खुल्यो सिद्धार्थ वाइल्डलाइफ रिट्रिट

काठमाडौँ, असार १५ गते ।  पर्यावरणीय पर्यटनमा पुनर्जागृत हुँदै गरेको चितवनको मेघौलीमा पछिल्लो समय ‘खर्चालु’ पर्यटक आकर्षित गर्न उच्चस्तरीय पर्यटकीय पूवाधार विकास हुँदै आएको छ । यसै क्रममा मेघौलीमा नेपाली हस्पिटालिटी चेन सिद्धार्थ हस्पिटालिटीले लग्जरी वाइल्डलाइफ रिसोर्ट सञ्चालनमा ल्याएको छ ।

यसअघि साराङ वाइल्डलाइफ स्याङचुरीका नाममा सञ्चालनमा रहेको रिसोर्टलाई सिद्धार्थ ग्रुपले ‘सिद्धार्थ वाइल्डलाइफ रिट्रिट’ का नाममा सञ्चालनमा ल्याइएको सिद्धार्थ बिजनेस ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्ण न्यौपानेले जानकारी दिनुभयो ।

मेघौली पर्यापर्यटनका लागि देशकै उत्कृष्ट गन्तव्यमध्येमा पर्छ । प्रकृतिमा रमाउँदै जलचर, वन्यजन्तु र चराचुरुङ्गी अवलोकन गर्न चाहनेका लागि मघौली परिचित गन्तव्य हो । अत्यधिक खर्च गर्ने पर्यटक आगमन हुने सो क्षेत्र पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्जभित्रका रिसोर्ट तथा होटेल बन्द हुँदा सुस्ताउन पुगेको थियो तर पछिल्लो समय त्यही पर्यटनलाई पुर्नजागृत गर्ने गरी मेघौली क्षेत्रमा गुणस्तरीय होटेल तथा रिसोर्टहरू बनिरहेका छन् । “जङ्गली जनावर, जलचर, वानस्पतिक तथा भौगोलिक विविधताको एकीकृत सङ्गम जस्तै छ मेघौली क्षेत्रको पर्यटन,” सिइओ न्यौपानेले भन्नुभयो, “यति सुन्दर गन्तव्य मेघौलीमा पर्यटकलाई उच्चस्तरीय वाइल्डलाइफ रिसोर्टको सेवा दिने उद्देश्यले सिद्धार्थ ग्रुप मेघौली आएको हो ।”

सिइओ न्यौपानेका अनुसार सिद्धार्थ वाइल्डलाइफ रिट्रिट १२ बिघा क्षेत्रको जङ्गलमा छ । रिसोर्टभित्रै सुन्दर बगैँचासहित रिसोर्टपरिसरकै जङ्गलमा विभिन्न चराचुरुङ्गी र जनावर अवलोकन गर्न सकिन्छ । 

पाहुनाले रिसोर्टमा रहेका हात्तीलाई घाँस, दाना खुवाउने, हात्तीसँगै बगैँचा घुम्ने, हात्ती बाथ, हात्ती वाक, हात्तीलाई खुवाउँदै आफू पनि ब्रेकफास्ट गर्ने जस्ता रोमाञ्चक सुविधा लिन सक्ने उहाँले बताउनुभयो । एउटा छावासहित रिसोर्टमा तीन वटा हात्ती छन् । रिसोर्टमा थारू शैलीका १७ भिल्लामा रहेका २४ कोठामा ४८ जना पर्यटकले रात बिताउन सक्छन् । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सिमानामा रहेको मध्यवर्ती जङ्गलसँगै जोडिएको सो रिसोर्टमा जङ्गल गतिविधिलगायत विभिन्न प्याकेज उपलब्ध रहेको न्यौपानेले बाताए ।थारू र कुमाल समुदायको बाहुल्य रहेको मेघौलीमा राप्ती नदीमा डुङ्गामा सयर गर्दै गोलाघाट पुगेर सूर्यास्तको मनमोहक दृश्यावलोकनसमेत गर्न सकिन्छ ।