काठमाडौं । पुर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई ‘हेमबहादुर मल्ल सम्मान २०८०’ प्रदान गरिने भएको छ । नेपाल जनप्रशासन सङ्घ र साल्ट टेडिङ्ग कर्पोरेशनले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा श्रेष्ठलाई ‘हेमबहादुर मल्ल सम्मान’बाट सम्मानित गर्न लागेको जानकारी दिएको हो । श्रेष्ठलाई न्यायिक नेतृत्व र संस्थागत विकासको क्षेत्रमा पुरयाउनु भएको अनुकरणीय योगदानका लागि उक्त सम्मान दिन लागिएको संस्थाले जनाएको छ । उहाँलाई सो सम्मान असार २६ गते विशेष कार्यक्रममा बीच अभिनन्दसहित नगद रु दुई लाख रुपैया हस्तान्तरण गरिने बताइएको छ ।

उहाँको चयन लोक सेवा आयोगका पुर्व अध्यक्ष उमेश मेैनालीको संयोजकत्वमा गठित सम्मान छनोट समितिले गरेको हो । छनोट समितिमा नेपाल जनप्रसासन संंघका अध्यक्ष मधुरमण आचार्य, समितिमा संघका निवर्तमान अध्यक्ष कृष्णहरि बाँस्कोटा, साल्ट ट्रेडिङ कर्पोरेशनका अध्यक्ष प्रदीपलाल श्रेष्ठ, प्राध्यापक यशोदा काफले र पुर्व सहसचिव जीवराज कोइराला सदस्य रहनुभएको बताइएको छ ।
स्व. मल्ललले साल्ट ट्रेडिङको संस्थापक प्रमुख, कार्यकारी प्रमुख, डाइरेक्टर इन्चार्ज र प्रमुख सल्लाहकार पदमा रही सेवा गरेका थिए । प्रशासन र व्यवस्थापनका क्षेत्रमा कार्यरत प्राज्ञिक, प्रशासक र व्यवस्थापकबीच पारस्परिक सम्बन्धलाई मर्यादित र सुदृढ गर्दै सार्वजनिक सरोकारसँग सम्बन्धित सार्वजनिक क्षेत्रको नीति निर्माण, पुनरावलोकन र मूल्यांकनमा पृष्ठपोषण गर्ने उद्देश्यले २०४७ सालमा संघको स्थापना भएको थियो ।

कर्पोरेसनले गहुँको बीउ प्रशोधन गरी किसानसमक्ष पुर्याउने र सोही बीउबाट उत्पादित गहुँ किसानबाट खरिद गरी मैदा, पिठो उत्पादन गरी सर्वसुलभरूपमा बिक्री वितरण गरिरहेको छ ।
हेमबहादुर मल्ल सम्मानबाट यसअघि केदारभक्त माथेमा, चाँदनी जोशी, डा भगवान कोइराला, डा विमल कोइराला, महावीर पुन, भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, डा सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा सन्दुक रुइत, डा गौरीशङ्कर लाल दास र सूर्यनाथ उपाध्याय, कूटनीतिज्ञ डा. भेषबहादुर थापा सम्मानित भइसक्नुभएको छ । सङ्घ र साल्टट्रेडिङ कर्पोरेशनको समझदारीमा २०५९ सालमा हेमबहादुर मल्ल सम्मान स्थापना गरिएको थियो । पच्चीस वर्ष कर्पोरेसनको महाप्रबन्धकको जिम्मेवारीमा रहनुभएका इमान्दार, परिश्रमी, कर्तव्यनिष्ठ र हक्की स्वभावका धनी मल्ललाई ‘रोलमोडल’ प्रशासक र व्यवस्थापकका रूपमा लिइन्छ । उहाँको स्मरणमा कर्पोरेसनको सौजन्यमा सङ्घले सम्मान स्थापना गरेको हो ।


