३ भदौ २०८३, बुधबार 1787122562
Banner

देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ सम्पन्न

काठमाडौं । यस वर्ष साउन १३ गतेसम्म देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ सम्पन्न भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कोशी, वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा रोपाइँको प्रगति उल्लेख्य भए पनि मधेश प्रदेशमा पानीको अभावका कारण ढिलाइ भएको छ।

मन्त्रालयका तथ्यांकअनुसार कोशी प्रदेशमा ८०.३९ प्रतिशत, वाग्मतीमा ८७.१९ प्रतिशत, लुम्बिनीमा ९२.०४ प्रतिशत, कर्णालीमा ९१.३८ प्रतिशत र सुदूरपश्चिममा ९८.९४ प्रतिशत भूभागमा धान रोपाइँ सम्पन्न भएको छ। तर, मधेश प्रदेशमा भने हालसम्म ५१.८२ प्रतिशत मात्र रोपाइँ भएको छ। गण्डकी प्रदेशमा रोपाइँको प्रगति ८.५३ प्रतिशतमा सीमित रहेको मन्त्रालयले जनाएको छ।

गत वर्ष यही मितिसम्म देशभर ९२.६ प्रतिशत भूभागमा रोपाइँ भइसकेको थियो। तर, यस वर्ष मधेश प्रदेशलगायतका केही क्षेत्रमा पानी नपरेका कारण रोपाइँमा ढिलाइ भएको मन्त्रालयले जनाएको छ।

कृषि विज्ञका अनुसार मनसुनको ढिलाइले रोपाइँ प्रभावित भए पनि आगामी केही हप्तामा वर्षा सामान्य अवस्थामा आएमा रोपाइँको प्रतिशत बढ्ने अपेक्षा गरिएको छ।