१५ बैशाख २०८३, मंगलबार 1777425639
Uncategorized

आफ्नै ६ वर्षीय छोराको हत्या आरोपी ‘मोस्ट वान्टेड’ महिला भारतबाट पक्राउ

वासिङ्टन डीसी । अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईले टेक्सासकी एक ‘मोस्ट वान्टेड’ महिलालाई भारतबाट पक्राउ गरेको छ । सिन्डी रोड्रिगेज सिंह नामकी यी महिलामाथि आफ्नै ६ वर्षीय छोरा नोएल रोड्रिगेजको हत्या गरेको गम्भीर आरोप छ ।

एफबीआईका अधिकारी काश पटेलले बिहीबार यो जानकारी दिएका हुन् । उनले सामाजिक सञ्जाल एक्समा बताएअनुसार सिन्डीले आफ्नो ठेगानाबारे झूट बोलेकी थिइन् र त्यसपछि भारत भागेकी थिइन् ।
भारतीय अधिकारीहरू र इन्टरपोलको सहयोगमा एफबीआईले सिन्डीलाई २० अगस्ट २०२५ मा भारतमा पक्राउ गरेको हो । उनलाई अमेरिका फिर्ता पठाइएको छ, जहाँ उनीमाथि कानुनी कारबाही अगाडि बढाइनेछ ।

सिन्डी एफबीआईको ‘टप १० मोस्ट वान्टेड’ भगौडाहरूको सूचीमा थिइन् । एफबीआईले उनको बारेमा जानकारी दिनेलाई २ लाख ५० हजार अमेरिकी डलर इनाम घोषणा गरेको थियो । काश पटेलका अनुसार उनी पछिल्लो सात महिनामा पक्राउ पर्ने चौथो ‘मोस्ट वान्टेड’ अपराधी हुन् ।

अनुसन्धानका क्रममा सिन्डीले नोएल नोभेम्बर २०२२ देखि आफ्नो बुबासँग मेक्सिकोमा रहेको दाबी गरेकी थिइन् । तर त्यसको दुई दिनपछि उनी आफ्ना पति अर्शदीप र अन्य ६ जना बच्चाहरूका साथ भारत आउने विमानमा देखिएकी थिइन्, जसमा नोएल थिएनन् ।

२०२५ मा ‘मोस्ट वान्टेड’ सूचीमा समावेश

टेक्सासका अधिकारीहरूले नोभेम्बर २०२३ मा उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेका थिए । एफबीआईले जुलाई २०२५ मा सिन्डीलाई आफ्नो ‘मोस्ट वान्टेड’ सूचीमा समावेश गरेको थियो । 

सिन्डी रोड्रिगेजको जन्म सन् १९८५ मा टेक्सासको डलासमा भएको थियो । उनको भारत र मेक्सिकोसँग पनि सम्बन्ध रहेको बताइएको छ । सिन्डीलाई अब टेक्सासका अधिकारीहरूलाई सुम्पिइनेछ, जहाँ उनीमाथि हत्या र अन्य आरोपहरूमा मुद्दा चलाइनेछ ।