धरान, १२ कात्तिक । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा एसमा रहेका नेता कार्यकर्तालाई एमालेमा फर्कन आह्वान गरेका छन् ।
एमाले जनसंगठन संयन्त्र, कोशीको आयोजनामा हिजो भएको विस्तारित बैठकलाई सम्बोधन गर्दै ज्ञवालीले नेकपा एसलाई बस स्टप जस्तो बनाउन खोजेर माओवादीमा मिसाउने प्रयत्न भइरहेको बताए । नेकपा एस र माओवादी बीचको एकता हुन लागेको सन्दर्भमा नेता ज्ञवालीले नेकपा एसलाई बस स्टप जस्तो बनाएर माओवादीमा लैजान खोजिएको भन्दै व्यङ्ग्य गरे ।
‘नेकपा फुटाएर नयाँ पार्टी बनाउँछौँ, नयाँ उचाइ दिन्छौँ भन्नेहरू आज माओवादीमा जान खोज्दै हुनुहुन्छ । के माओवादीमा जानका लागि नेकपा एसलाई बस स्टप बनाइएको हो ?’ उनले माओवादी केन्द्रका अध्यक्षप्रति टिप्पणी गर्दै भने, ‘प्रचण्डले पुन आफू अध्यक्ष हुनका लागि विभिन्न पार्टीहरूसँग एकीकरण गरिरहेका छन् । माओवादी केन्द्र होइन, नयाँ पार्टीको म अध्यक्ष हुँ भन्नका लागि यो सबै गरिरहनु भएको हो ।’
उनले राष्ट्रहित र संवैधानिक व्यवस्था खतरामा परेको दाबी गर्दै भने, ‘लोकतन्त्र, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई कमजोर बनाउनका लागि अहिले षड्यन्त्र भइरहेको छ ।’ ज्ञवालीले जेनजीको नाममा देशमा विध्वंस सृजना गरी सार्वभौम सत्ता र राष्ट्रियतालाई खतरामा पार्ने प्रयास भइरहेको भन्दै सचेत रहन आग्रह गरे । ‘हाम्रो भूमि प्रयोग गरेर छिमेकीलाई प्रयोग गर्ने प्रयत्न भइरहेको छ । हामी यस्ता प्रयासबाट होसियार हुनुपर्छ ।’ उनले भने ।
पछिल्लो घटनाक्रमले संविधान र लोकतन्त्र संकटमा रहेको उल्लेख गर्दै उनले भने ‘संविधानले नचिनेका मानिस प्रधानमन्त्री भएका छन् । हैसियत नभएकाले कर्मचारीलाई थर्काइरहेका छन्— कर्मचारी डराइरहेका छन्, काम हुन सकेको छैन । आन्तरिक सुरक्षा मात्र होइन, राष्ट्रिय सुरक्षा समेत खतरामा छ । यस अवस्थामा चुनाव हुँदैन ।’ अहिले संविधान मात्रै होइन देशलाई सिध्याउने षड्यन्त्र भइरहेको चर्चा गर्दै उनले भने, ‘जेलेन्सकी जस्ता पात्रहरु सिर्जना गरेर देशलाई ध्वंस गर्ने प्रयत्न हुँदैछ । अहिलेको व्यवस्थामा कार्यकारीमाथि संसदले चेक एण्ड ब्यालेन्सको भूमिका निर्वाह गर्छ । तर हामीले पपुलिजमको भरमा परेर कार्यकारीको कुरा गरिरहेका छौँ । त्यो हाम्रा लागि खतरा छ अहिले हाम्रो मुलुकलाई आगो लगाउनका लागि यस्ता विभिन्न खालका कुराहरु गरिँदैछ ।’ विभिन्न बहानामा सामाजिक सद्भाव खलल पुर्याउने, आर्थिक संरचनाहरू ध्वस्त बनाउने परिस्थिति बनाइँदैछ । यसप्रति हामीले बेलैमा सचेत हुनुपर्ने ज्ञवालीको भनाइ थियो ।
ज्ञवालीले दलहरूलाई कुनै दुविधामा नरही व्यवस्थालाई जोगाउनका लागि संसद पुनस्थापनाको एजेन्डामा एक हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा एमालेका स्थायी समिति सदस्य एवं जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले संसद विघटन असंवैधानिक भएको बताउँदै जेनजीको माग संसद विघटन नभएको तर षड्यन्त्रकारीहरूले जेनजी विरोधलाई हाइज्याक गरेर मुलुकलाई भड्खालामा हालिएको बताए ।
बैठकमा कोशी प्रदेश इन्चार्ज शेरधन राईले पार्टीलाई एक ढिक्का र बलियो बनाएर लैजानुपर्नेमा जोड दिए । नयाँ ढंगको आन्दोलनमार्फत असंवैधानिक हर्कतहरू खारेज गर्न सबै कार्यकर्तालाई तयार रहन उनले निर्देशन दिए । उनले संघर्षका माध्यमबाट मात्रै असंवैधानिक कदमलाई सच्याएर ठिक ठाउँमा ल्याउन सकिने भन्दै उनले देशभरि एमालेले जनप्रदर्शन र विरोधका कार्यक्रम गर्ने बताए ।
त्यसैगरी, स्थायी समितिका सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको सार्वभौमसत्तालाई कमजोर बनाउने षड्यन्त्र भइरहेको बताए । उनले लोकतन्त्रवादी र गणतन्त्रवादी एकजुट भएर यसलाई परास्त गर्नुपर्नेमा जोड दिए । जेनजी विरोधको समयमा भएका घटनाका सत्य तथ्य बाहिर ल्याएर विध्वंस गर्नेलाई कारबाही गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा सहभागी नेताहरूले आर्थिक, सुरक्षासम्बन्धी चिन्ता व्यक्त गर्दै जनआधारित, संवैधानिक विधिमार्फतै नेतृत्व चयन र पार्टी पुनर्स्थापनामा जोड दिँदै सबै तहका कार्यकर्तालाई संगठन र एकताका लागि सक्रिय हुन आग्रह गरेका थिए ।
कार्यक्रममा युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेवे, खेलकुद महासंघका अध्यक्ष परशुराम बस्नेत, मानव अधिकार एलायन्सका अध्यक्ष बिदुर सुवेदी र पेशागत महासंघका अध्यक्ष पुण्य ढकाल लगायतले बोलेका थिए ।
कोशी प्रदेशका जनसंगठन संयन्त्रका प्रमुख बाबुराम थापाले कोशी प्रदेशमा जनपरिचालन जनप्रदर्शन गर्नका लागि आह्वान गरिएको र बैठकले १२ बुँदे प्रस्ताव पारित गरेको जानकारी दिए ।


