२८ कार्तिक २०८१, बुधबार 1731485062
पालिका

महिला कर्मचारीसँग काम गर्न असहज हुने भन्दै वडाध्यक्षले मागे पुरुष कर्मचारी

खोटाङ -खोटाङको हलेसी तुवाचुङ नगरपालिका १० का वडाध्यक्षले महिला कर्मचारीसँग काम गर्न असहज हुने भन्दै पुरुष कर्मचारी माग गरेका छन्। वडा अध्यक्ष अर्जुन कुमार पुरीले मंगलबार प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाउँदै वडा सचिव पुरुष नै व्यवस्था गरिदिन माग गर्नुभएको हो।

नगरपालिकाले १० नं वडामा सुशिला दाहाललाई हालै सरुवा गरी पठाएको थियो। तर सोमबार बसेको वडा समितिको बैठकले उहाँलाई हाजिर नगराई पुरुष कर्मचारी नै माग गर्ने निर्णय गरेको हो।

नगरमा पठाएको पत्रमा भनिएको छ, ‘महिला वडा सचिवबाट असजिलो हुने भएको कारणले यस वडामा पुरुष कर्मचारी नै वडा सचिव व्यवस्था गरिदिनुहुन यस वडाको मिति २०७९ जेठ ३० गतेको वडा समिति बैठकको निर्णय अनुसार अनुरोध छ।’

हलेसी तुवाचुङ नगरपालिकाको मेयर बिमला राई हुन्। यही नगरपालिकाका वडा नं ५ र ७ मा पनि महिला कर्मचारी छन्।