११ कार्तिक २०८१, आइतबार 1730031001
राजनीति

देउवालाई थापाको सुझाव : पार्टी सभापति र प्रधानमन्त्रीमा लोभ नगर्नूस्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति शेरबहादुर देउवाबाट पार्टी चल्न नसक्ने बताउँदै नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताए ।

मंगलबार विराटनगरमा सञ्चारकर्मीहरुसँगको अन्तरक्रियाका क्रममा उनले यस्तो बताएका हुन् । यस्तै, उनले सभापति देउवालाई भविष्यमा प्रधानमन्त्री बन्ने लोभ पनि नगर्न सुझाव दिएका छन् ।

‘अब सभापतिले नेतृत्व हस्तान्तरण गरेर पार्टीमा पुस्तान्तरण गर्नुपर्छ,’ थापाले भने ‘यही गठबन्धनमा कांग्रेस नेतृत्वमा सरकारसमेत बन्ने पक्का भएकाले सभापतिले अब प्रधानमन्त्रीमा समेत दाबी गर्नु हुँदैन।’

महामन्त्री थापाले प्रधानमन्त्रीमा सभापतिवाहेक अन्य जो सुकै भए पनि हुने बताएका छन। ‘उहाँ पाँच–पाँच पटक प्रधानमन्त्री भइसक्नु भएको छ,’ थापाले भने ‘अब प्रधानमन्त्रीमा फेरि आश गर्नुहुँदैन। अरू जोसुकै बने पनि हुन्छ।’

सभापतिले नयाँ व्यक्तिलाई प्रधानमन्त्री र सभापति दुवै पद छोड्न मार्ग प्रशस्त गर्नुपर्ने उनको भनाइ छ ।

‘मैले कुनै रिसइबी लिएर भनिरहेको छैन। पार्टी हितका लागि हो। नेपाली कांग्रेसले नयाँ नेतृत्व खोजी रहेको छ। यी कुरा लागु गर्न म लागिरहेको छु । अझै लाग्छु। परिवर्तन गर्न लागि रहेको छु, जोखिम उठाउने हो । फलका विषयमा चिन्ता गर्ने होइन । आज मेरो काम भनेको नेतृत्व र सरकारको नेतृत्व परिवर्तन गर्ने भन्ने हो,’ उनले भने।

Tags :